Logo

काँग्रेसले जे बोल्छ, त्यही गर्छ, चुनाव हुन्छ : ढुंगाना



प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता आनन्द ढुंगानाले मधेशी मोर्चाले अघि सारेका माँगहरुलाई कहीँ न कहीँ सम्बोधन गरेर जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । त्यस्तै उनले चुनाव भएमात्रै प्रजातन्त्र सुदृढ हुने र देशले निकास पाउने विश्वास व्यक्त गरेका छन् । यीनै विषयम केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली बहसका लागि नेता ढुंगानासँग गरेको कुराकानीको सम्पादित अंश :

अब निर्वाचन हुनेमा ढुक्क हुनुहुन्छ ?

निर्वाचन हुन्छ । यसमा कुनै शंक गर्नुहुँदैन् ।

कसरी र कुन कुन ठाउँमा हुन्छ ? बताउनुहोस् त ?

निर्वाचन त हुन्छ । तर एउटै कुरा हामीले भनिरहेका छौं, कि मधेशी मोर्चाले भनेका कुराहरुलाई पनि कहीँ न कहीँ सम्बोधन गरेर जानुपर्छ। व्यवस्थित गरेर जान सकियो भने निर्वाचन हुन्छ नि ।

तर समय कम छ नि ?

सहमति भयो भने निर्वाचन दोस्रो चरणमा पनि त गर्न सकिन्छ । मधेशी मोर्चाले दोस्रो संशोधन प्रस्तावमा सहमति जनाएर अघि बढ्न सकियो र, प्रमुख प्रतिपक्षी दलले पनि यसमा सहयोग गर्यो भने देशले निकास पाउँछ । प्रजातन्त्रले निकास पाउँछ । लोकतन्त्रले निकास पाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्र संविधान कार्यान्वयनमा अघि बढ्छ ।

अब निर्वाचन आउन जम्मा २५ दिन बाँकी छ ? संभव छ त  ?

समय बहुत कम छ । पहिलो चरणको निर्वाचन बैशाख ३१ गते नै हुन्छ । सहमति भयो भने संभावना छ । मधेशमा दोस्रो चरणमा पनि निर्वाचन हुन्छ ।

अझैपनि सहमतिको संभावना छ र ?

अहिलेपनि सहमतिको प्रयास सरकारले गरिरहेको छ । सहमतिको संभावना अझैपनि टरेको छैन । मधेशमा दोस्रो चरणको मिति तय गर्यो भने संशोधन पनि गर्न सकिन्छ नि।

तर काँग्रेसभित्र पनि एकमत देखिएको छैन नि ?

नेपाली काँग्रेस यो देशमा द्धन्द्ध समाधानको लागि मात्रै नभएर मुलुकको समृद्धिको लागि पनि हामीले काम गरेका छौं । मधेश केन्द्रित दलहरुलाई पेलेर जानुपर्छ भन्ने पक्षमा हामी छैनौं । मोर्चापनि सहमतिमा आउनुपर्छ । हामीले मधेश केन्द्रित दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ भनेर छलफल गरिसकेका छौं ।

तर गृहमन्त्री विमलेन्द्र निधिले यथास्थितिमा निर्वाचन असंभव रहेको संकेत गर्नुभएको छ ?

उहाँले के भन्नुभयो ? कहाँ के भन्नुभयो ? उहाँले प्रष्ट रुपमा निर्वाचन हुन्छ भनेर विश्वास व्यक्त गर्नुभएको छ । राज्य व्यवस्था समितिको बैठकमा उहाँले निर्वाचनबारे प्रष्टसँग भन्नुभएको छ । सरकार निर्वाचन गराउन सक्षम छ ।

तर हिजो प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले असहयोग गरेको गुनासो पोख्नुभएछ नि ?

यो उल्टो उल्टो कुरा नगर्नुहोस् । प्रधानमन्त्रीजीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन चुस्त र दुरुस्त बनाउनुहोस् भन्नुभएको हो । उहाँले गृहमन्त्रीले निर्वाचन चाहनुभएको छैन भनेर कुनै पनि हालतमा भन्नुभएको छैन । निर्वाचनको मुखमा आएर तपाईहरुले यस्तो कुरा नगर्नुहोस् ।

तर नेताहरुले जे मन लाग्यो त्यही बोल्नुहुन्छ ?

बोल्नुहुन्न । जिम्मेवार नेताले कुनै पनि हालतमा जे मन लाग्यो त्यो बोल्दैनन् ।

नेताहरु पहिला बोलिदिनुहुन्छ अनि मैले बोलेकै छैन भनेर खण्डन गरिदिनुहुन्छ ?

खण्डन गर्ने प्रचलन तपाईको होला । काँग्रेस जे बोल्छ, त्यही गर्छ । चुनाव हुन्छ । मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउँछन् ।

उसो भए मोर्चा निर्वाचनमा नआएपनि बैशाख ३१ गते निर्वाचन हुन्छ ?

निर्वाचन टर्दैन् । तर दुई चरणमा भएपनि निर्वाचन गराउन सकिन्छ । मोर्चालाई पनि सहमतिमा ल्याउनुपर्छ ।

अहिले मधेशमा निर्वाचनको कस्तो वातावरण पाउनुभएको छ ?

जनतामा निर्वाचनको वातावरण बनेको छ । तर, निकास निकाल्नको लागि केही न केही समाधान गर्नुपर्छ ।

भनेपछि तपाई पनि द्धिविधामा हुनुहुन्छ ?  

म कुनै द्धिविधामा छैन । निर्वाचन हुन्छ । यसका लागि वातावरण बनाउनुपर्छ । कसैको नाममा निर्वाचन रोकिँदैन् । गिरिजाबाबुले भन्नुहुन्थ्यो कि काँग्रेस हार्ला तर निर्वाचनले देशले जित्छ । त्यसैले अहिलेपनि निर्वाचन अपरिहार्य छ ।



प्रतिक्रिया दिनुहोस्