Logo

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित



तेह्रथुम, ७ वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् ।

तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने यस क्षेत्रमा पूर्वी तराईका जिल्लाहरुका आन्तरिक पर्यटक र भारत लगायतका अन्य विदेशी पर्यटकहरु पनि गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउने गर्दछन् ।

साधारण उपचारका लागि समेत ४ देखि ६ घन्टासम्म पैदल हिँड्न बाध्य स्थानीयवासी तथा पर्यटक भरपर्दो उपचार लिन ५ घन्टा दूरीको वसन्तपुर र अझ टाढाको धरानसम्म पुग्न बाध्य थिए । तर चौकीबजारमै सहरी स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासीलाई जटिल समस्या बाहेकको सामान्य अवस्थामै टाढाका स्वास्थ्य संस्था धाउन नपर्ने भएको छ । उनीहरुको त्यही समस्यालाई ध्यानमा राखेर जिल्ला अस्पताल सङ्खुवासभाले स्वास्थ्य केन्द्र स्थापना गरेको केन्द्रका इन्चार्ज अहेब खगेन्द्र घिमिरेले बताउनुभयो ।

स्वास्थ्य केन्द्रबाट सामान्यतः स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवासुविधा दिइरहेको उहाँले बताउनुभयो । केन्द्र स्थापना भएपछि मादी नगरपालिका–१ र २ तथा तामाफोक–१ र २ का चौकीबजारसहित उम्लिङ, मनामसिंह, मविर, अरिहाङ, ताङपुर, आहालडाँडालगायत बस्तीका डेढ सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

केन्द्र स्थापना भएपछि सिटामोलकै लागि दिनभर पैदल धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी लीलाबहादुर खत्रीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, पखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको समेत सामान्य उपचार हुने गर्दछ । केन्द्रमा हाल एक अहेब र एक अनमी कार्यरत छन् । रासस



प्रतिक्रिया दिनुहोस्