Logo

बुटवल उपमहानरपालिकाको मेयरमा आकांक्षीद्धारा उम्मेवारी घोषणा



प्रकाश खनाल : बुटवल,बैशाख ७ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा बुटवल उपमहानगरपालिकाको मेयर पदमा बिभिन्न राजनीतिक दलका नेताहरुले आफुहरु उम्मेदवारको आकांक्षी रहेको घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बिहिवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनिहरुले उम्मेदवारको आकांक्षा व्यक्त गरेका हुन् ।

राजनीतिक दलहरुले टिकट बितरण गर्दा हाम्रो भन्दा पनि राम्रो,जनतामा भिजेको र सक्षम व्यक्तिलाई दिनुपर्ने कुरामा जोड दिदै उनिहरुले पार्टीले टिकट दिए चुनाव जितेर बुटवल उपमहानगरपालिकालाई देशकै नमुना नगरको रुपमा बिकास गर्ने आ आफ्नो योजना समेत सुनाए ।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य हरिबहादुर आचार्य क्षेत्रीले आफु पार्टीको बुटवल नगरपालिकाको नगर सचिव,क्षेत्रिय सचिव हुदै क्षेत्रिय सभापति हुदै जिल्ला कार्यसमितिको सदस्य बनेको भन्दै आफु पनि टिकटको दाबेदार रहेको घोषणा गरे ।

उनले लामो समयदेखी आफु राजनीतिमै कृयाशील रहेको र आफ्नो पेशानै राजनीति भएकोले पार्टीले आफुलाई टिकट दिनुपर्ने कुरामा जोड दिए ।
पार्टीको स्थानिय तहमा रहेर पनि बुटवलको बिकास निर्माणमा आफ्नो महत्वपुर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पार्टीले टिकट दिए चुनाव जितेर बुटवल उपमहानगरपालिकाको बिकासमा थप योगदान गर्ने बताए ।

बुटवलमा २० हजार भन्दा बढि सुकुम्बासी रहेको भन्दै उनले सुकुम्बासीहरुलाई जहाँको तही व्यवस्थापन गर्नुका साथै खानेपानि,सडक लगायतका समस्या समाधान गर्नसक्ने कार्ययोजना आफुसँग रहेको दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकै जिल्ला कार्यसमिति सदस्य रामेश्वर श्रेष्ठले आफु यस अघि पार्टीको तर्फबाट दुई कार्यकाल बुटवल नगरपालिकाको वडा अध्यक्ष भएर काम गरिसकेको अनुभवि भएकोले पार्टीले आफलाई टिकट दिदा चुनाव जित्न सजिलो हुने बताए ।

दुई कार्यकाल नगरपालिकाको बिकास निर्माण गर्ने क्रममा आफु नगरपालिकाको हरेक बस्तिमा पुगेर जनताको काम गरेकोले आफुलाई चुनाव जित्न सहज हुने उनको भनाई थियो ।

जनप्रतिनिधि नभएका कारण बुटवलको बिकासका लागि एडिबिबाट आएको करौडौं रकम फिर्ता भएको भन्दै उनले आफुसँग बुटवललाई नमूना उपमहानगरपालिका बनाउने भिजन भएको दाबी गरे ।

स्थानिय जनताबाट कर उठाएर मात्रै नगरको बिकास गर्ने भन्दा पनि बाहिरबाट रकम ल्याएर बिकास गर्न सके नगरवासीहरुलाई फाईदा हुने भन्दै उनले आफुसँग उक्त क्षमता रहेको बताए ।

साक्षात्कार कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय परिषद सदस्य निर्दोश अलिले आफ्नो पार्टीले अगाडी सारेको पाँच स को अवधारण लिएर चुनावमा जाने बताउदै उनले आफुले टिकट पाएर नगरपालिकाको नेतृत्व गर्ने अवसर पाए बुटवल उपमहानगरपालिकालाई ग्रिन र क्लिन बुटवल बनाउने अवधारणा अगाडी सारे ।

पार्टीले अगाडी सारेको एजेण्डाप्रति आम नेपाली जनता आकर्षित भएको बताउदै उनले स्थानिय निकायमा नयाँ शक्ति पार्टीलाई आउन नदिन षडयन्त्रपुर्वक दलको चुनाव चिन्ह नदिईएको आरोप लगाए ।

निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई उसको दलिय चुनाव चिन्ह नदिनु अलोकतान्त्रिक र असंबैधानिक कार्य भएको बताउदै उनले चुनाव चिन्ह प्राप्तिको आन्दोलन र चुनाबि अभियान एकसाथ अघि बढाउने जानकारी दिए ।

बिगतको स्थानिय निकायको निर्वाचन भन्दा अहिलेको निर्वाचन ऐतिहासिक भएको उल्लेख गर्दै उनले कार्यकारी अधिकार सहितको स्थानिय निकाय भएकोले सक्षम त्यहाँ पुग्नुपर्ने बिचार व्यक्त गरे ।

त्यस्तै गरि नेकपा एमालेबाट मेयरका आकांक्षि बाबुराम भट्टराईले आफुलाई पनि पार्टीको स्थानिय कमिटीले मेयर पदको उम्मेदवारको रुपमा सिफारिस गरेको उल्लेख गर्दै पार्टीले टिकट दिए आफुले चुनाव जित्न सक्ने बिश्वास व्यक्त गरे ।

आफु जस्तै एमालेबाट धेरै जना आकांक्षी रहेको जानकारी गराउदै उनले आफुसँग पनि बुटवलको बिकासका लागि छुट्टै भिजन भएको बताए ।

नेतृत्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोखरेलले आफ्नो पार्टीबाट बुटवल उपमहनगरपालिकाको मेयर पदमा धरैजना आकांक्षी रहेको उल्लेख गर्दै आफुले टिकट पाए चुनाव जित्ने बिश्वास व्यक्त गरे ।

उनले सिंहदरवारमा रहेको अधिकार स्थानिय तहमा ल्याउने काममा माओवादी केन्द्रको महत्वपुर्ण भूमिका रहेको भन्दै सोही एजेण्डाको आधारमा आफुले चुनाव जित्ने दाबी गरे ।

लामो समय सम्म स्थानिय निकायको निर्वाचन नभएको अवस्थामा पार्टीमा धेरै जनाले उम्मेदवारको आकांक्षा राख्नु स्वभाविक भएको बताउदै उनले पश्चिम नेपालकै प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेकोले पनि बुटवल उपमहानगरपालिकाको मेयर लगायतका पदमा धेरैले आकांक्षा देखाएको बिचार व्यक्त गरे ।
कार्यक्रम क्लबका रुपन्देही अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot