Logo

सबै जिल्लाका मतपत्र आज बेलुकासम्म छपाइ भइसक्छ : प्रमुख आयुक्त



काठमाडौँ, ७ वैशाख । राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावमा सम्भावित गाउँपालिका तथा नगरपालिकाका सबै पदमा महिला उम्मेदवार दिन आह्वान गरेको छ ।

“म दल र तिनका नेतालाई संविधानका प्रावधानभन्दा माथि उठेर स्थानीय तहमा सकेसम्म सबै पदमा महिला उम्मेदवार दिई नमुना गाउँपालिका र नगरपालिका बनाउन अनुरोध गर्छु” – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोगद्वारा स्थानीय शासन प्रक्रियामा महिलाको नेतृत्व र प्रतिनिधित्व सवलीकरण विषयक आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण रुपमा महिलाले नेतृत्व गर्ने गाउँपालिका तथा नगरपालिका जनताले चाहिरहेका छन् भन्नुभयो ।

आगामी स्थानीय तहको चुनावका क्रममा सबै महिलाले नेतृत्व गर्ने मतदानस्थल बढीभन्दा बढी बनाउन आयोगले प्राथमिकता दिएको जानकारी दिँदै उहाँले चुनाव महिलामैत्री बनाइने छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “सबै जिल्लाका मतपत्र आज बेलुकासम्म छपाइ सम्पन्न भइसक्छ, मतदाता नामावली छपाइ भइसक्यो, मतदाता परिचयपत्र प्रिन्ट भइसक्यो, चुनावलाई चाहिने ६७ प्रकारका सामग्री जिल्ला जिल्लामा ढुवानी भइरहेको छ । ”

विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा महिला सहभागिता ३३ प्रतिशत रहेकामा संविधानले यस प्रावधानलाई वृद्धि गरी स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । गाउँपालिका वा नगरपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्यका साथै वडामा कम्तीमा एक दलित, जनजाति महिलाको सहभागिता पनि अनिवार्य गरेको छ ।

यस प्रावधानअनुसार अब ४८१ गाउँपालिका, २४६ नगरपालिका १३ उपनगरपालिका र चार महानगरपालिकाबाट १३ हजार ३६० महिला निर्वाचित हुनेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्