Logo

महिलाले जितेको संविधान : सभामुख घर्ती



काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले महिलाले जितेको संविधानलाई कार्यान्वयन गर्न स्थानीय चुनाव आवश्यक भएकामा जोड दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोगद्वारा स्थानीय शासन प्रक्रियामा महिलाको नेतृत्व र प्रतिनिधित्व सवलीकरण विषयक आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कुनैबेलामा ढुङ्गा नफोर्नु तर मौकामा हिरा पनि फोर्नुपर्छ, यसैले चुनावको यस महान् अभियानलाई सफल बनाउन म सबैमा आग्रह गर्छु ।”

सभामुख घर्तीले चुनावले सिंहदरबारको अधिकार घर आँगनमै प्राप्त हुने चर्चा गर्दै संविधानको प्रस्तावनाले नै समानुपातिक र समावेशितामा जोड दिएको छ भन्नुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले प्रतिनिधित्व र नेतृत्व फरक विषय भएकाले स्थानीय चुनावले एकसाथ महिलाको प्रतिनिधित्व र नेतृत्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरपार्टी सञ्जालका अध्यक्ष प्रतिभा राणाले महिलालाई उपप्रमुख÷उपाध्यक्ष पदमा मात्र सीमित नराखी प्रमुख पदमा पनि टिकट दिन शीर्ष नेतालाई आग्रह गर्दै दलित महिला उम्मेदवार नभएका स्थानको पद खाली नराखी विकल्प खोजी गर्न निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।

स्थानीयतहको निर्वाचनमा महिला सहभागिताको साझा अभियानका संयोजक दुर्गा घिमिरेले स्थानीय तहमा महिलाले नेतृत्व गर्दा भ्रष्टाचार कम, सुशासन, पारदर्शिता हुने तथा समग्र आर्थिक तथा सामाजिक उन्नयनसमेत हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्र सङ्घीय विकास कार्यक्रमका देशीय प्रतिनिधि भ्यालेरी जुलियाण्डले निर्वाचनले लोकतन्त्रलाई संस्थागत विकास गर्ने विश्वास प्रकट गर्नुभयो ।

दुईदिने सो कार्यक्रममा सबै जिल्लाका महिला नेत्रीको सहभागिता रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्