Logo

स्थानीय चुनावमा तीन तहको सुरक्षा, यस्तो छ तयारी



काठमाडौं ८ बैशाख ।
सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा परिषदको निर्णय छ । मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन् ।

गृह मन्त्रालयले समान्य, संवेदनशील र अति संवेदशील क्षेत्रमा वर्गीकरण गरी आवश्यक सुरक्षाकर्मी परिचालन गर्न लागेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार संसद्मा चुनाव सुरक्षाबारे जानकारी दिँदै मतदान स्थल र केन्द्र तथा जिल्लाको सुरक्षालाई ध्यानमा राखेर यस्तो योजना बनाएको जानकारी दिए । ‘वर्गीकृत सुरक्षा योजना बनाई परिचालन पनि सुरु भइसकेको छ,’ उनले भने ।

निर्वाचन आयोगले सात प्रदेशका ७ सय ४४ स्थानीय तहमा मतदान स्थलको संख्या १० हजार ६ सय ४० र मतदान केन्द्रको संख्या १८ हजार ५ सय ७२ निर्धारण गरेको छ । केन्द्रीय निर्वाचन सेलले मुलुकभर आवश्यक रिजर्भ (बस्ने), मोबाइल (घुम्ती) टोलीको आवश्यक जनशक्ति, हातहतियार, सञ्चार साधनसमेत के कति अपुग हुन्छ, त्यसबारे लेखेर पठाउन पत्र समेत काटिसकेको छ ।

मन्त्री निधिले संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको निर्वाचन मिति घोषणापछि राजनीतिक दलका साथै सर्वसाधारणमा समेत जनलहर बढदै गइरहेको बताए । ‘करिब २० वर्षपछि मुलुक निर्वाचनमय बनेको छ,’ उनले भने । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न केन्द्रीय तहमा ‘स्थानीय तह सुरक्षा योजना २०७३/७४’ तयार गरी कार्यान्वयनमा ल्याइसकेको उनले संसद्लाई जानकारी दिए । ‘निर्वाचन योजनाका लागि सबै पक्षसँग छलफल गरिएको थियो, आयोगलगायत सम्बद्ध पक्षलाई विश्वासमा लिई सुरक्षा वातावरणका लागि आधार तय गरिएको छ,’ उनले भने ।

निधिले प्रत्येक निर्वाचन स्थल र केन्द्रमा केन्द्रीय सुरक्षा योजना बनाउन निर्देशन गरिएको र सोही बमोजिम क्षेत्र तथा जिल्लाबाट सुरक्षा योजना तयार गरी सुरक्षार्थ परिचालन भइसकेको बताए । आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर भोट हाल्ने भन्ने टुंगो समेत लगाइसकेको छ । मन्त्री निधिले त्यसमा सुरक्षा निकायलाई समवन्य गर्न, भूमिका स्पष्ट पार्न र प्रभावकारी रूपमा परिचालन गर्न एकीकृत सुरक्षालाई अघि बढाइएको बताए । सुरक्षा निकायबीचको समन्वयनका लागि सात प्रदेशलाई समेट्ने विराटनगर, धनगढी, नेपालगन्ज र पोखारामा सुरक्षा गोष्ठी गरिसकेको तथा धुलिखेल र सिमरामा केहि दिन भित्रै गर्ने योजना रहेको जानकारी दिए ।

निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्था मिलाउने काम गृह प्रशासनले गरेको समेत उनले बताए । निधिले शान्ति सुव्यवस्था कायम गरी निर्वाचन गराउन सरकार कटिबद्ध रहेको उल्लेख गरे । सरकारले निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । उनले भने, ‘यसमा सबै रानजीतिक दलको सहयोगको आवश्यकता छ र सबैको ध्यान यसमा केन्द्रित हुनुपर्छ ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्