Logo

‘डिआइजी सिलवालको हातमा कसरी पुग्यो डकुमेन्ट’ भन्दै मन्त्रिपरिषदद्वारा छानविनका



काठमाडौं ८ बैशाख । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ ।

डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्‍यो, त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले आदेश दिएको हो ।

‘अति गोप्य र बाहिर ल्याउन नमिल्ने सरकारी कागजात कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने निर्णय भएको छ,’ विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले भने, ‘सम्बन्धित निकायबाट गोप्य फाइल कसरी सिलवालको हातमा पर्‍यो र अदालत पुग्यो त्यस विषयमा छानबिन हुनेछ ।’

सिलवालले पेश गरेको भनिएको कागजात कीर्ते भएको भन्दै मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्याल र उनको नम्बर हेरफेर गरी बुझाइएको ठहर गरेको छ । सर्वोच्च अदालत र मन्त्रिपरिषद्बीच क्षेत्राधिकारससम्बन्धी विवाद चर्किरहँदा बिहीबारको मन्त्रिपरिषद् निर्णयपछि घटनाले नयाँ मोड लिएको छ ।

पूर्वमहान्यायाधिवक्ता बाबुराम कुवँरले यो निर्णयद्वारा मन्त्रिपरिषद्ले अदालतसमक्ष विचाराधीन मामिलालाई प्रभावित गर्न खोजेको र प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा अदालतले दिइसकेको आदेशलाई कार्यकारी अधिकारको दुरुपयोगद्वारा विचलित गर्ने षड्यन्त्र गरेको बताए ।

‘अदालतको निर्णयमा चित्त नबुझे अदालतमार्फत मात्र त्यसको निराकरण खोज्नुुपर्ने मान्यताविपरीत मन्त्रिपरिषद् षड्यन्त्रमा उत्रिएको उनले बताए । सिलवालले सर्वोच्चमा दायर गरेको रिटमा आफ्नो र प्रहरी महानिरीक्षक अर्यालको चार वर्षको कार्यसम्पादन मूल्यांकनको नक्कलप्रति पनि पेस गरेका छन् ।

सिलवालले पेस गरेको उक्त कार्यसम्पादन मूल्यांकनमा आर्थिक वर्ष ०७२÷७३ को उक्त फाइल किर्ते गरेको ठहर मन्त्रिपरिषद्को छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्