Logo

‘माओवादीले यो चुनावमा सोचेभन्दा राम्रो गर्छ, किनकी हामी जमिनमै छौं’ : मन्त्री कार्की



काठमाडौं, ८ बैशाख । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते नै हुने स्पष्ट पारेका छन् । उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पनि निर्वाचनमा सँगै लिएर जानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भगीरथ प्रयास गरिरहेको जानकारी दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित ई. अनन्तराज घिमिरेको ‘आयो आयो माओवादी’ नामक गिती एल्बम विमोचन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मुलुकमा चुनावमा होमिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका हुन् । एल्बम मन्त्री कार्की र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा गरेका हुन् ।

विमोचनपछि बोल्दै मन्त्री कार्कीले भने,‘हिजोमात्रै झापामा आयोजित सभामा हाम्रो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डजीले २० हजारभन्दा बढि जनतालाई साँक्षी राखेर भन्नुभैसक्यो, अब चुनाव हुन्छ, हामीले झुठो आश्वासन दिएका छैनौं ।’

कार्कीले वर्तमान सरकार मोर्चाका जायज र मुनासिप माँगहरुलाई सम्बोधन गरेर नैै अघि बढिरहेको उल्लेख गर्दै भने,‘हामीलाई विश्वास, मोर्चापनि चुनावमा आउँछ, अहिले त्यसको लागि वार्ता भैरहेको छ, आजमात्रै पनि वार्ता भएको छ, सम्वादहरु सकारात्मक दिशामै अघि बढिरहेका छन् ।’

उनले नेपालमा केही माँग्नुपर्यो भने अलिक बढि नै माँग्ने चलन रहेकोले अन्तिममा आएर सहमति हुने दाबी गरे । कार्कीले थपे,‘पेस्टोल चाहिँएको हुन्छ, तर यहाँ पेस्टोल लिनको लागि तोप माँग्नुपर्छ, अनिमात्रै पेस्टोल पाईन्छ।’

मन्त्री कार्कीले यस पटकको चुनावमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले सोचेको भन्दा धेरै राम्रो नतिजा हाँसिल गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामी निकै आशावादी छौं, दाबी गर्ने कुरा त होईन, तर भर्खरै सम्पन्न भएको स्ववियू निर्वाचनले पनि हामीलाई ठूलो आशा जगाएको छ।’

उनले ०६४ को संविधानसभाको चुनावमा जनताले माओवादीलाई ठूलो दल बनाएको तर त्यतिवेला माओवादीले जमिन छोडेको स्विकार गर्दै थपे,‘०६४को चुनावमा जनताले हामीलाई सबैभन्दा ठूलो दल बनाए, तर हामीले भुँई छोड्यौं, त्यसपछि ०७० मा भएको चुनावमा हामीलाई जनताले तेस्रो पार्टी बनाए, अहिले हामी सरकारमा छौं, तर हामीले जमिन छोडेका छैनौं।’

उनले अक्सर जुन पार्टी सरकारमा जान्छ त्यतिवेला जनतामा सर्वाधिक आलोचना हुने गरेको नेपालको ईतिहाँस स्मरण गराउँदै भने,‘तर हामी सरकारमा हुँदापनि हाम्रो पार्टीको बारेमा खासै नकारात्मक आलोचनाहरु भएका छैनन्, हामीले जनताको मन जित्ने काम गरेका छौं।’

यद्धपी उनले वर्तमान सरकार गठन हुँदै गर्दा सर्वाधिक आलोचना खेपेको भएपनि सरकारले राष्ट्रघाती काम नगरेको दाबी गरे । उनले भने,‘यो सरकारले सिमली बुटो पनि बेचेको छैन, राष्ट्रघाती सन्धिसम्झौताहरुमा हस्ताक्षर पनि गरेको छैन् ।’

सरकार अहिले संयमित भएर अघि बढेको उल्लेख गर्दे ठूला ठूला निर्णय हुँदा पनि कुनै आलोचना नभएको उनले दाबी गरे । उनले भने,‘तपाईहरु हेर्न सक्नुहन्ुछ, माओवादीले चलाएका मन्त्रालयहरुको कामकारबाही र गतिबिधिहरु, कतिपय मन्त्रालयमा छिट्टै परिणाम पनि आएका छन्, कतिपयका आउन बाँकी छन्, तर काम भएका छन् ।’ आफू नेतृत्वको मन्त्रालयले पनि नेपालको आफ्नै स्वामित्वको स्याटेलाईट बनाउने तयारी गरेकोले छिट्टै परिणाम आउने पनि कार्कीको दाबी थियो ।

उनले उक्त गिती एल्बम जनताको पक्षमा रहेको बताउँदै भने,‘सरकारले गरेका राम्रा कामहरुलाई गीतमार्फत पस्किनुभएको छ, यो अत्यन्तै सराहनीय काम हो ।’ उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा गीतकार तथा संगीतकारहरुको ठूलो योगदान रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्