Logo

धमलाको प्रश्न : ‘के प्रचण्डले मधेशी मोर्चालाई चुनावमा लिएर जान सक्नुहोला ?’



काठमाडौं, ८ बैशाख । कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अत्यन्तै राम्रो काम गरेको उल्लेख गर्दै अब बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गरेर अर्को चमत्कार गर्न आग्रह गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित ई. अनन्तराज घिमिरेको ‘आयो आयो माओवादी’ नामक गिती एल्बम विमोचन कार्यक्रममा बोल्दै धमलाले मुलुकमा चुनावमा होमिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका हुन् । एल्बम सञ्चारमन्त्री सुरेन्द्र कार्की र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा गरेका हुन् ।

धमलाले चुनावी गीती एल्बमपनि चुनावकै तयारीको लागि भएकोले अब निर्वाचन हुनेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले मुलुक र जनता यतिवेला चुनावको व्यग्र प्रतिक्षामा रहेकोले जसरी पनि तोकिएै मितिमा चुनाव हुनुपर्ने बताए ।

उनले भने,‘चुनाव जसले जितोस्, त्यो मतलवको कुरा होईन, अब चुनाव हुनुपर्छ, निर्वाचनको विकल्प छैन, ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन हुनुपर्छ, यतातिर सरकारले ध्यान दिनुपर्छ ।’ उनले सरकारको अर्जुनदृष्टि अब चुनाव हुनुपर्ने भन्दै त्यतातिर बढि केन्द्रित रहन प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

उनले निर्वाचनको लागि सबै दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको खाँचो औंल्याउँदै भने,‘मधेशी मोर्चालाई पनि सहमतिमा लिएर चुनावमा जानुपर्छ, सरकारले अब यो काम गर्न सक्छ कि सक्दैन, जनता हेरिरहेका छन् ।’

धमलाले पटक–पटक प्रधानमन्त्री प्रचण्डको कार्यशैलीको प्रशंसा गर्दै भने,‘प्रचण्ड चमत्कारी नेता हो, उहाँले अब निर्वाचन सफल बनाउन सक्नुहुन्छ, मोर्चालाई पनि साथमै लिएर जानुहुन्छ भन्ने हामीले आशा लिएका छौं ।’



प्रतिक्रिया दिनुहोस्