Logo

परिवर्तनका एजेण्डा संस्थागत गर्न निर्वाचन : बादल



काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थानीय तहको निर्वाचन परिचालन समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनको एजेण्डा संस्थागत गर्ने कि नगर्ने भन्ने विषय यतिखेरको प्रमुख दायित्व रहेको बताउनुभयो ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि आफ्नै पार्टी नेतृत्वमा भएको उल्लेख गर्दै उहाँले त्यसलाई संस्थागत गर्न पनि तीनवटै तहको निर्वाचनमा आफ्नो पार्टी विजयी हुनैपर्ने तर्क गर्नुभयो ।

उनले घरघरमा गएर निर्वाचनको प्रचार अभियानमा पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनतासँग एकाकार भएरमात्रै निर्वाचनमा विजयी हुन सकिनेतर्फ पनि पार्टी कार्यकर्तालाई सचेत गराउनुभयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउन पनि आफ्नो पार्टी नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन लागिपरेको बताउनुभयो ।

आफ्नो पार्टी नेतृत्वको सरकारले मुलुकभर विद्युत्भार कटौतीको अन्त्य गरेको, २५ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धि यसैपटक मात्रै भएको, आर्थिक विकास र विस्तारको प्रक्रिया सुरु भएको तथा नागरिकले राज्यबाट सहज रुपमा सेवा पाउने अवस्था सिर्जना भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पार्टीबाट २०० बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेता लीलामणि पोखरेल, प्रवक्ता पम्फा भुसाल लगायतको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्