Logo

बेलायती महारानीको एकानब्बेऔँ जन्म दिवस मनाइयो



लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ ।

बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको बग्गी बिहान ११ बजे यहाँको हाइक पार्कमा पुगेपछि उहाँको ९१ औँ जन्मदिनको अवसरमा ४१ तोपको सलामी अर्पण गरिएको थियो ।

सो अवसरमा बकिङघम राजदरबार बाहिर बेलायती सेनाको सङ्गीत टोलीले ‘ह्याप्पी बर्थ डे’ को सङ्गीत बजाएर खुसियाली मनाइएको थियोे ।

महारानी एलिजावेथ द्वितीयको जन्म दिवसकै अवसरमा बेलायतको सयौँ वर्ष पुरानो ‘टावर अफ लन्डन’ मा एक छुट्टै समारोहका बीच ६३ तोपको सलामी दिइएको थियो ।

महारानी एलिजावेथ द्वितीय बेलायतको इतिहासमै सबैभन्दा लामो समय सत्ता सम्हाल्ने व्यक्ति हुनुहुन्छ ।थाई नरेश भूमिबोल अदुल्यादेजको गत वर्ष मृत्यु भएपछि महारानी एलिजावेथ हाल विश्वकै सबैभन्दा बढी शासन गर्ने जीवित रानी हुनुहुन्छ ।

उहाँले सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म बेलायतको सत्ता सम्हाल्नुभएको छ । बेलायतमा महारानी संविधानको संरक्षकका रुपमा हुनुहुन्छ ।

महारानीले आफ्नो जन्म दिवस प्रायजसो निजी रुपमा मनाउने गर्नुहुन्छ । रासस/एपी



प्रतिक्रिया दिनुहोस्