Logo

गृहमन्त्रीले गरे संसद्को अपमान : निधिको अनौठो शैली !



काठमाडौं ९ बैशाख । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग लिनुभयो । विपक्षी एमालेले सांसद सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि त्यसको जवाफ दिन निधि संसद्मा पुग्नुभएको थियो । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

सांसदहरूले शून्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगरले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोस्ट्रममा बोलाउनुभयो । बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरू सभामुख आसन र सरकारका लागि छुट्याइएको कुर्सीतिर हेराहेर गर्न थाले । त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुग्नुभयो र निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाबारे जवाफ दिनुभयो ।

जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकेको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसदहरू मुखामुख गर्न थाल्नुभयो । ‘संसद्मा उपस्थित नै नभएको अवस्थामा गृहमन्त्रीलाई किन सभामुखले समय दिनुभयो भन्ने हामीलाई लागेको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अन्नपूर्णसँग भन्नुभयो, ‘संसद्मा आजसम्म कहिल्यै नभएको शैली पो अपनाउनुभयो ।’

संसद् नियमावलीको नियम (३) मा भनिएको छ, ‘प्रत्येक सदस्यले सभामुखद्वारा निर्धारित क्रम र स्थानमा आ–आफ्नो आसन ग्रहण गर्नुपर्छ ।’ तर, निधिले भने मन्त्रिपरिषद्को वरीयता विवाद देखाउँदै संसद्मा पनि सभामुखले तोकेको आसनमा बस्न इन्कार गर्दै आउनुभएको छ । सभामुखले नबोलाउँदासम्म गृहमन्त्री निधि बिहीबार संसद्को ढोकामा उभिनुभएको थियो । सभामुखले बोलाएपछि मात्र बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुगेर जवाफ दिएपछि सिधै बाहिरिनुभएको थियो ।

पूर्वकानुनमन्त्री एवं एमाले नेता अग्नि खरेलले गृहमन्त्री निधिको व्यवहारले संसद्को अपमान भएको बताउनुभयो । ‘संसद्को मर्यादा र सम्मानका लागि प्रधानमन्त्रीदेखि सांसद सभामुखले तोकेको स्थान र क्रममा बस्नुपर्छ,’ खरेलले भन्नुभयो, ‘सभामुखले तोकेको कुर्सीमा मन्त्री नबस्ने, अनि बैठकमा उपस्थित नभएको मन्त्रीलाई सभामुखले बोल्न समय दिने चलनले संसदीय प्रणालीलाई नै कमजोर बनाउँछ ।’

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद्मा आउँदा राष्ट्रपतिले पनि सभामुखले तोकेको कुर्सीमा बस्नुपर्छ । मन्त्री निधिले भने सभामुख र संसद्कै अपमान हुनेगरी व्यवहार गरेको स्वयं कांग्रेसकै सांसद बताउँछन् ।

‘संसदीय प्रणाली र मन्त्रिपरिषद्मा प्रधानमन्त्रीय पद्धतिको सबैभन्दा आवाज उठाउने लोकतान्त्रिक पार्टीले नै उसकै मन्त्रीबाट यी दुवै पद्धतिको खिल्ली उडाउँदा पनि निरीह हुनुपरेको छ,’ कांग्रेसका एक सांसदले भन्नुभयो, ‘संसदीय प्रणालीको वकालत गर्ने पार्टीले यो विषयलाई गम्भीर रूपमा लिनुपर्छ ।’संसद् सचिवालयका कर्मचारी पनि सभामुखले अनौठो तरिकाले गृहमन्त्रीलाई बोल्न समय दिएकोमा आश्चर्य व्यक्त गर्छन् ।



प्रतिक्रिया दिनुहोस्