Logo

डिल्लीबजारमा खानेपानीको समस्या



काठमाडौँ, ९ वैशाख । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या छ ।

खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने बाध्यता छ । पानीको अभावका कारण सुन्दरीजल, चुच्चेपाटीमा रहेको पानीको टंयाकबाट सात आठ दिनमा एक पटक मात्र पानी दिने गरिएको छ । त्यो पनि बढीमा दुई घन्टा मात्र आउने हुनाले यहाँका बासिन्दा मर्काका परेका हुन् ।

दैनिक जीवन धान्नका लागि पानीकै कारण समस्या भएको स्थानीयवासी वृद्धा परानमाया शाहीले दुःखेसो गर्नुभयो । आठ दिनमा एक पटक पानी आउँदा पनि डेरामा बस्नेलाई घरबेटीले पानी नदिने हुनाले बहालमा बस्नेको समस्या अझै दुःखदायी छ ।

पिपलबोटनेर डेरा गरी बस्ने कमला राई भन्नुहुन्छ, “पानीको समस्याले गर्दा पढ्न लेख्न पनि समस्या भएको छ । पढ्ने समयमा पानीको लाइन बस्न जानुपर्छ ।”

घरबेटी अन्जना शाहीले आफूहरुलाई पनि पानी नपुगेकाले बहालमा बस्नेका लागि दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी सात आठ दिनको एक पटक मात्र आउँछ, हामीलाई नै पुग्दैन, थोरै समय आउँछ, त्यसैले गर्दा हामीले डेरामा बस्नेलाई सात आठ दिन पुग्ने पानी दिन नसकेका छैनौँ ।”

ज्ञानेश्वरदेखि पिपलको बोटसम्मका मानिसले पानी भर्ने हुँदा त्यहाँ धेरै भिड भएको र लाइन बस्नुपरेको शाहीले बताउनुभयो । पानीको लाइन बसेर भर्दा झगडा हुनेजस्ता समस्या पनि देखापर्ने गर्छ ।

पानी खोल्ने र बन्द गर्ने समयअवधि सीमित नहुनाले कति बेला पानी आउँछ भन्ने थाहा नभएको र पानी बगेर खेर गइसकेपछि मात्र थाहा हुँदा एकै पटक पानी भर्न आउनेको भिड हुन्छ । पिपलबोटदेखि ज्ञानेश्वरसम्म १५–२० घरधुरी छन् ।

उक्त ठाउँमा प्रतिघर कम्तीमा पनि तीनदेखि चार परिवार डेरामा बसोबास गर्दै आएका छन् । जनसङ्ख्याको अत्याधिक चापका कारणले पनि पानीको समस्या आएको युवक राईले बताउनुभयो । स्थानीयवासीको भनाइअनुसार हप्ताको कम्तीमा दुई पटक भए पनि पानी आएमा समस्या कम हुन्छ ।

काठमाडौँमा ट्यांकर तथा जारको पानी ल्याउन यातायात तथा भण्डारणको समस्या छ । टोलका भाडामा बस्नेले मिलेर ल्याउन चाहे पनि धारामा आउने पानीको तुलनामा महँगो हुने गरेकाले सर्वसाधारणलाई झनै समस्याले पिरोल्छ । रासस



प्रतिक्रिया दिनुहोस्