Logo

प्रधानमन्त्रीसँग अमेरिकी सिनेटरहरुको भेट



काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले भेट गर्नुभएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक बृद्धिदर त्यसको संकेत भएको बताउनु भयो।

प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने बताउनु भयो । तोकिएकै समयमा स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गरिने जानकारी दिँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उत्साहवद्र्धक रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोंच सकारात्मक रहेको बताउनु भयो ।

सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको बताउँदै त्यसका लागि प्रधानमन्त्री प्रचण्डको विशेष देन रहेको समेत उल्लेख गर्नुभयो ।

नेपालको आर्थिक विकासमा अमेरिका सधैं सकारात्मक र सहयोगी रहने बताउँदै सिनेटरहरुले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् भन्ने अमेरिकाको सदीक्षा रहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्