Logo

बैशाख ३१ को निर्वाचन टर्यो, प्रधानमन्त्रीले सिफारिश गरे नयाँ मिति, एमाले असहमत



काठमाडौं, ९ बैशाख । संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ ।

मोर्चा निर्वाचनमा सहभागी भएसँगै अब निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरुसँग शीर्ष तहमा छलफल सुरु गरेका छन् । मोर्चा सहभागी हुने शर्तमा दुई चरणमा निर्वाचन गर्नेबारे प्रमुख दल नेपाली काँग्रेस पनि पूर्ण सहमत छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालवीचको छलफलमा यसबारेमा सहमति बनेको एक नेताले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग पनि निर्वाचनको मिति सार्न सकिनेबारे संक्षिप्त छलफल गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले बजेटपछि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति सारेका छन् । उनले जेठ २० देखि २२ गतेको लागि मिति तय गर्नेगरि छलफल अघि बढाएका छन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले अघि सारेको मितिमा कुनैपनि हालतमा सहमति नजनाउने भएपछि निर्वाचन अब बजेट आउनुभन्दा अघि अर्थात जेठ १५ गते अघि नै हुने भएको छ । दलहरुवीचको प्रारम्भिक छलफल अनुसार जेठको पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बुझिएको छ । एमालेले बजेट पछि निर्वाचन गर्ने भए उक्त निर्णयको विरुद्धमा देभव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा भएको सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुवीचको छलफलमा समेत दुई चरणमा निर्वाचन गर्ने सहमति भएको काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए । शीर्ष नेताहरुका अनुसार शुक्रबार नै सहमति गर्ने प्रयास थियो । संविधान संशोधन विधेयक परिर्माजन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

नव गठित कार्यदलमा कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् । कार्यदलले आज विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ ।

त्यस्तै हिजोको बैठकमा मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर सबै दल निर्वाचनमा सहभागी हुने निर्णय लिइएको सत्तापक्षको दाबी थियो । यो सहमतिले औपचारिकता पाए चुनाव दुई चरणमा हुने निश्चित छ ।्

त्यस्तै मोर्चा निर्वाचनमा आउने भएपछि अब स्थानीय तहको संख्या पनि अब जनसख्याको आधारमा वृद्धि हुने भएको छ । मोर्चा विगत एक महिनादेखि यही माँग्ग अघि सार्दै आईरहेको थियो। यो सहमति अनुसार प्रदेश नम्बर २ का साथै ५ र १ का केही जिल्लाको स्थानीय तह हेरफेर हुनेछ । स्थानीय तहको संख्या र सीमा हेरफेर भएका स्थानहरुमा दोस्रो चरणमा चुनाव हुनेछ । जेठभित्रै चुनाव हुन्छ, मोर्चाका एक नेताले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्