Logo

(डीपीएल) क्रिकेट: चौराहाद्वारा विराटनगरलाई जितका लागि १६० रनको लक्ष्य



काठमाडौं, ९ बैशाख । धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई जितका लागि १६० रनको चुनौती दिएको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको हो।

चौराहाका लागि आरिफ शेखले सर्वाधिक अर्धसतकीय पारि खेले। ३० बल खेलेका उनले ४ छक्का र चार चौकासहित ५४ रन बनाए।यस्तै बिष्फोटक ब्याटिङ गरेका अमर राउटेलाले ३१ रन बनाए। मात्र १५ बल खेलेका उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए। सौरभ खनालले ५ बलमा १४ रन बनाए।

यस्तै कप्तान पारस खड्काले २९ रनको योगदान दिए। ३४ बल खेलेका उनले १ छक्का र तीन चौका प्रहार गरेका थिए। चौराहाका लागि पृथ्यु बाँस्कोटाले १४ रन बनाएका थिए। ओपनर राजु रिजाललाई शुन्यमा गुमाएको चौराहाका लागि अनिल मण्डलले २ रन बनाए।

पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले लगातार चार खेल जितेको छ र राम्रो लयमा छ । शरद भेषाकवरको कप्तानीमा रहेको विराटनगर किंग्सका लागि शुसील कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टले १-१ विकेट लिए।

चौराहाले लगातार चौथो खेल जित्नेक्रममा क्वालिफायर्स २ मा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गरेको थियो । विराटनगरले क्वालिफायर्स १ मा रुपन्देहीलाई ३० रनले पराजित गरेको थियो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेक्रममा पनि यही दुई टोली भिडेका थिए, जसमा विराटनगरले धनगढीलाई २३ रनले पराजित गरेको थियो। उपाधि जित्ने टिमले नगद १५ लाखसहित ट्रफि पाउनेछ।



प्रतिक्रिया दिनुहोस्