Logo

संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउने सहमति



काठमाडौं, ९ बैशाख । सत्ता पक्ष र मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुबीच बालुवाटारमा वार्ता चलिरहेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउने सहमति भएको छ । दिउँसो ३ बजेबाट सुरु भएको वार्तामा संशोधन प्रस्तावलाई मोर्चाका माँगहरु अनुसार नै परिमार्जन गरेर अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिए ।

अहिले वार्ता स्थानीय तह निर्वाचनबारे छलफल केन्द्रित छ । हिजो शुक्रबार पटक पटकको वार्ता र छलफलपछि सहमति नजिक पुगेका भनिएका दलहरुले आजको वार्तामा ठोस सहमति बनेको छ । संसदमा दर्ता भएको संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने सहमति भएपछि अब निर्वाचनको मिति कहिलेसम्म सार्नेबारे छलफल जारी रहेको छ ।

स्थानीय तहको संख्या बढाउनुपर्ने भए दुई चरणमा निर्वाचन गर्ने माग सरकारले सम्बोधन गर्ने र माग पूरा हुने समझदारीपछि मोर्चा चुनावमा सहभागी हुने शुक्रबारको बैठकमा समझदारी बनेको थियो ।

सत्ता पक्षबाट प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेताहरु छन् । मोर्चाको तर्फबाट राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, वृषेशचन्द्र लाल, केशव झा लगायतका नेताहरु सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्