Logo

बालुवाटार बैठकमा तीन बुँदे सहमति, मोर्चाको आन्दोलन स्थगित्



काठमाडौं, ९ बैशाख । सरकार र मधेसी मोर्चाबीचको वार्ता सहमतिका साथ सम्पन्न भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ५ घण्टा लामो छलफलवीच दुवै पक्ष सहमतिमा पुगेका हुन् । संयुक्त लोकतान्त्रिक मोर्चाको माग पूरा गर्न सरकारले घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गर्ने भएको छ ।

वार्तामा सहभागी मन्त्री एवम् काँग्रेस नेता रमेश लेखकले भने,”सरकारले संविधान संशोधन परिमार्जनका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर संसदमा पेश गर्नेछ। अनि संशोधन प्रस्ताव पारित गरेपछि मोर्चाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएर निर्माचनमा जानेछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि  दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
दुई चरणमा गर्ने निर्वाचनबारे सरकारले निर्वाचन आयोगसँग परामर्श गर्ने भएको छ । सहमतिअनुसार भोलि नै सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित पास गर्न गृहकार्य थाल्नेछ ।

प्रस्ताव एक हप्ताभित्रै पारित गर्ने सहमति भएको छ । एक हप्ताभित्र प्रस्ताव पारित गराउनको लागि सरकारले फाष्ट ट्याकबाट प्रक्रिया अघि बढाउने भएको छ ।

त्यस्तै नयाँ सहमतिअनुसार बैशाख ३१ गते तोकिएको स्थानीय निकाय निर्वाचन दुई चरणमा गरिने भएको छ । पहिलो चरणमा निर्वाचन गरी केही जिल्लामा जेठ ३१ मा निर्वाचन गरिने भएको छ । स्तै आजको बैठकले अधिकार सम्पन्न स्थानीय निकायका लागि नगरपालिका र गाउँपालिका प्रदेश मातहतमा राख्ने विषयमा कुरा भएको छ।

बैठकमा भाषा आयोगले सिफारिस गरेका भाषालाई अनुसूचीमा राख्ने, नगरपालिकाको सम्बन्धमा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार भित्र राख्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने विषयमा छलफल भएको छ । यसअघि आजै बिहान बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति सार्ने र स्थानीय तहको संख्या बढाउनेबारे मोटामोटी सहमति गरेको थियो।

त्यस्तै मोर्चाले अब सबै आन्दोलका कार्यक्रम स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्