Logo

राउटेलाई भेटेर स्वास्थ्य मन्त्रीले भन्नुभयो, “सवैले उपचार गर्नु, सरकारले सवै व्यवस्था गर्छ”



काठमाडौं, ९ बैशाख । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेट्नु भएको छ ।

कपिल आगोले जलेर केही महिनादेखि थलिनु भएको थियो । अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते हुनु भएको थियो ।

उहाँलाई बिहीबार उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्यमन्त्री थापाले कपिलको सम्पूर्ण उपचार राज्यले गर्ने बताउनु भयो । ‘संरक्षण गनुपर्ने समुदाय भएकोले उहाँको सबै उपचार राज्यले गर्छ’ थापाले भन्नुभयो, ‘उपचारमा कुनै कमि हुन दिँदैनौं ।’ राउटे समुदायको लागि निशुल्क स्वास्थ्य विमा गरिने पनि थापाले बताउनु भयो । विमाको सबै शुल्क राज्यले व्यहोर्ने गरि उनीहरुको विमाको व्यवस्था गरिने उहाँले प्रष्ट पार्नुभयो । उनीहरुको लागि पोषण युक्त खानेकुराको व्यवस्था गर्न पनि कार्ययोजना बनाइने थापाले बताउनु भयो ।

राउटेहरुको लागि घुम्ती स्वास्थ्य क्लीनिकको व्यवस्था गरिने उहाँले जानकारी दिनभयो । अस्पताल सम्म आउन नमान्ने भएका कारण उनीहरु बसेकै स्थानमा चिकित्सक सहितको घुम्ती स्वास्थ्य सेवा दिइने पनि उहाँले बताउनु भयो । उहाँले उपचार पुरा नभई घर नफर्किन आग्रह गर्नु भएको छ ।

राउटे बस्तीमा विरामी अवस्थामा रहेकी राउटे मुखिया मैनवहादुर शाहीकी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन एम्वुलेन्स व्यवस्था गर्न उहाँले त्यहीबाट संवन्धीत ठाउमा निर्देशन दिनु भएको छ ।

राउटे समुदायको स्वास्थ्यको बारेमा सरकार चिन्तीत रहेको बताउँदै विषेश समुदायको लागि छुट्टै बिषेश कार्ययोजना बनाइने उनको भनाई थियो । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौ ल्याइएको हो । उहाँलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहालको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो ।



प्रतिक्रिया दिनुहोस्