Logo

समझदारीप्रति एमालेमा असन्तोष



काठमाडौं १० बैशाख । सत्तारूढ दल र संघीय गठबन्धनबीच चुनावमा सहभागी हुने गरी शनिबार साँझ भएको समझदारीले प्रमुख प्रतिपक्षी दल एमालेमाथि दबाब बढेको छ । अहिलेसम्म एमालेले चुनाव एकै चरणमा गर्नुपर्ने र संविधान संशोधन विधेयक अघि बढाउनै नहुने अडान राख्दै आएको छ । दुई चरणमा चुनाव गर्ने दुई पक्षबीचको शनिबारको समझदारीप्रति एमाले नेताहरूको प्रारम्भिक प्रतिक्रिया भने सकारात्मक छैन ।

एमालेले पछिल्ला दिनमा आफ्नो पार्टीसँग संघीय गठबन्धनसितको वार्ता र स्थानीय चुनाव दुई चरणमा गर्ने विषयमा कुनै छलफल नभएको उल्लेख गर्दै एमाले नेताहरूले समझदारीमाथि प्रश्न उठाएका छन् । दुई पक्षबीच लिखित समझदारी भइनसकेकाले एमालेले औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।

‘उहाँहरूको के–के विषयमा कस्तो समझदारी हो भन्ने औपचारिक रूपमा आएको छैन, त्यसैले अहिले हामी केही भन्दैनौं,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कान्तिपुरसँग भने, ‘हामीले उहाँहरूलाई यसअघि पटकपटक चुनावको विषयमा प्रश्न गरेका थियौं, तर केही भन्न चाहनुभएन ।’

निर्वाचन आयोगले समेत दुई चरणमा निर्वाचन गर्न नसकिने धारणा राखिरहेको अवस्थामा सत्तारूढ दलहरूले कसरी चुनावको मितिबारे निर्णय गरे भन्नेमा आफू आश्चर्यमा परेको नेम्वाङले बताए । ‘उहाँहरूले निर्वाचन आयोगसँग छलफल गर्नुभएको छैन, हामी प्रतिपक्षीसँग यो विषयमा कुनै सल्लाह भएको छैन, दुई चरणमा गर्ने भन्नेबित्तिकै त्यसबाट आउने जटिलताबारे उहाँहरू जानकार हुनुहुन्न जस्तो छ,’ नेम्वाङले भने । दोस्रो चरणको चुनाव जेठ ३१ मा गर्ने समझदारीमा छ । उक्त मितिमा चुनाव हुन नसक्ने नेम्वाडको धारणा छ । संविधानअनुसार जेठ १५ मा वार्षिक बजेट संसद्मा पेस गर्नुपर्छ । निर्वाचन आचारसंहिताले त्यो काम गर्न नदिने उनको तर्क छ । निर्वाचन सुरु भइसकेको सन्दर्भमा बजेट ल्याउन मिल्दैन, निर्वाचन आचारसंहिताका कुरा छन्, यसमा उहाँहरूको पटक्कै ध्यान छैन जस्तो छ,’ नेम्वाङले भने, ‘बजेट ल्याएपछि फेरि चुनाव हुन्छ कि हुँदैन ?’

चुनावकै बीचमा बजेट पेस गर्दा त्यसले निर्वाचन प्रभावित हुने बुझाइ एमालेको छ । निर्वाचन घोषणा भएपछि कर्मचारीहरूको सामान्य सरुवा बढुवासमेत गर्न मिल्दैन । यस्तो अवस्थामा आयोगले समेत चुनावको बीचमा बजेट पेस गर्ने गरी चुनावी मितिमा समझदारी नजनाउने आकलन एमालेको छ ।

सत्तारूढ दलहरूसँगको छलफलमा नियमित रूपमा सहभागी हँुदै आएका नेम्वाङका अनुसार कुनै पनि बैठकमा निर्वाचनको मिति सार्नेबारे यसअघि औपचारिक कुरा भएको थिएन । तर मधेसी मोर्चा चुनावमा आउने अवस्था भए जस्तोसुकै सहयोग गर्न एमाले तयार हुने धारणा भने एमाले नेताहरूले राख्ने गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्