Logo

स्थानीय तहको निर्वाचनमा राप्रपाले चुनावी तालमेल गर्ने, एमालेसँग छलफल



काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ ।

पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ ।

पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ ।

उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रियासमेत निर्माण गरिएको छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठालगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ ।

काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँका १० नगरपालिका प्रमुख तथा प्रमुखका लागि नामावली तयार पारिसकेको भए पनि तालमेलको निर्णय भइनसकेकाले ती नामावली सार्वजनिक गर्न नसकिएको समितिका अध्यक्ष नवराज सिङ्खडाले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा केही स्थानमा पार्टीले एक्लै सफलता प्राप्त गर्न सक्ने तथा भने केहीमा पार्टीको निर्णय निर्णायक हुने जिकिर गर्नुभयो ।
पार्टीले स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उपप्रमुखमा अन्य क्षेत्रभन्दा विशेष महत्व दिइएको छ ।

पार्टीको काठमाडौँ महानगर कार्यसमितिले कामपा प्रमुखमा राजाराम श्रेष्ठलाई उम्मेदवारीका लागि निर्विरोध सिफारिस गरेको छ ।

उपप्रमुखमा भने सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरिएको छ । नायिका रेखा थापालाई प्रमुखमा उठाउने चर्चा चले पनि उनको नाम सिफारिस हुन सकेको छैन । रासस



प्रतिक्रिया दिनुहोस्