Logo

संशोधन प्रस्ताव पारित गराउन एमालेले समर्थन गर्ने संकेत, बजेटपछि निर्वाचन नगर्न ओलीको सुझाव



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा लामो वान टु वान वार्ता भएको छ ।

शनिबार सरकार र मधेशी मोर्चावीच संविधान संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउने र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री दाहाल आज यसबारेमा जानकारी दिन प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास पुगेका थिए ।

दुई नेतावीच ओली निवास बालकोटमा करिब एक घण्टा छलफल भएको थियो । स्थानीय तहको चुनाव दुई चरणमा गर्ने विषयमा ओली नरम नै देखिएका छन् । तर ओलीले सरकारले एमालेसँग कुनै परामर्श नै नगरी संशोधन प्रस्ताव परिमार्जनसहित अघि बढाउने निर्णय गरेकोमा भने तिव्र असन्तुष्ट प्रकट गरेको स्रोतले जनाएको छ ।

दुई चरणमा गर्न लागिएको निर्वाचनबारे केपी ओलीबाट सकारात्मक प्रतिक्रिया आएकोले प्रधानमन्त्री दाहाल यतिवेला निकै उत्साहित बनेका छन् । संविधान संशोधन प्रस्तावमाथिको परिमार्जनका बारेमा चाहिँ प्रस्ताव हेरेपछि समर्थन वा विरोध गर्ने ओलीले प्रधानमन्त्रीसामु कुरा राखेका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसामू दोस्रो चरणको निर्वाचन बजेटपछि गर्नेबारेमा पनि तिव्र असन्तोष प्रकट गरेका थिए । उनले कुनैपनि हालतमा एमालेले बजेटपछि निर्वाचन गर्ने कुरामा सहमति जनाउन नसक्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्