Logo

प्रचण्ड–ओलीवीच ४५ मिनेट भेटवार्ता : ओलीले भने,‘एमाले जालोमा पर्ने झिंगा होईन’



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच करिब ४५ मिनेट लामो वान टु वान भेटवार्ता भएको छ ।

शनिबार सरकार र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वासमा लिनको लागि प्रधानमन्त्री दाहाल आज अपरान्ह एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । दुई नेतावीच निकै महत्वपूर्ण सम्वाद भएको थियो ।

प्रचण्ड–ओलीवीचको सम्वादको बारेमा उच्च स्रोतले पत्रकार ऋषि धमलालाई मुलुकको निकासको बारेमा एमालेले सकारात्मक भूमिका निर्वाह गर्ने आश्वासन ओलीले प्रधानमन्त्री दाहाललाई दिएका छन् । निकै प्रफुल्लित मुद्रामा ओली निवास बालकोट पुगेका प्रधानमन्त्री दाहालसामू ओली निकै रमाईलो तर रवाफिलो तरिकाले प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री दाहालले सुरुवातमै शनिबार बालुवाटारमा भएको तीन बुँदे सहमतिको बारेमा अवगत गराएका थिए । तर ओलीले फिल्मी शैलीमा प्रतिप्रश्न तेर्साए,‘तपाईहरुले सहमति गरेको भन्ने कुरा बाहिर आयो, तर के के सहमति गर्नुभयो भन्ने कुरा लिखित रुपमा बाहिर आउनुपर्यो नि।’

संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित अघि बढाउने र यसलाई पारित गराउनको लागि एमालेले सहयोग गर्नुपर्ने भन्दै प्रचण्डले ओलीसामू आग्रह गरेका थिए । तर ओलीले रुखो जवाफ फर्काईहाले,‘एमाले भनेको जालोमा पर्ने झिंगा होईन, यो पार्टी कसैको जालमा फस्ने पार्टी होईन, यो कुरा तपाईले बुझ्नुपर्छ, एमालेलाई तपाईले जालोमा फसाउने सोच्नुभएको छ भने, यो असफल हुन्छ ।’

ओली विस्तारै जँगिदै प्रचण्डसामु पेश भए,‘एमालेले विगतमा पनि यस्ता खाले जालो तोड्दै आएको हो, तपाईले हामीलाई जालोमा फसाउने सोच्नुभएको छ भने, (मैले फेरि दोहोर्याएर भनें) यो तपाईको भ्रममात्रै हो।’

ओली यसरी कड्किएपछि प्रधानमन्त्री दाहालले सम्झाउने कोशिस मात्रै गरेनन, बरु निकासको लागि आफूले यो सबै गरेको भन्दै निर्वाचन र संविधान कार्यान्ववयनको सुनिश्चितताको लागि एमालेले पनि एक कदमपछि हटेर राष्ट्रिय भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे ।

प्रचण्डले यसो भनिरहँदा ओली एकाएक नरम भए, अनि अघि भने,‘एमाले सँधै मुलुकको निकासको पक्षमा छ, तर निकास भन्दैमा जे पनि गर्नु त भएन नि? बरु भन्नुहोस्, तपाईहरुले अहिले अघि बढाउने नयाँ संशोधन प्रस्तावमा के के परिमार्जन गर्न खोज्नुभएको छ, संशोधन प्रस्ताव परिमार्जनमा के÷के छ ? लिखित रुपमा देखाउनुहोस्।’ ओलीले लिखित प्रस्ताव नहेरेसम्म आफ्नो पार्टीले हचुवाको भरमा सस्तो टिप्पणी नगर्ने स्पष्ट पारे । उनले फेरि दोहोर्याएर सोधे,‘लिखित केही ल्याउनुभएको छ ?’

उनले प्रदेशको सिमांकन हेरफेर अदालतले रोकिसकेको अवस्थामा जबरजस्ती सरकारले एकलौटी ढंगनले न्यायलयको मानमर्दन हुनेगरि किन अघि बढ्न लिँडेढिपी गर्न खोजिरहेको छ भन्दै यसबारेमा प्रधानमन्त्रीसँग जान्न जाहेको पनि एक नेताले पत्रकार धमलालाई बताए ।

ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अदालतको निर्णयको बावजुदपनि अझैपनि प्रदेशको सिमांकन हेरफेर किन घुमाउरो पाराले चलाउन खोज्नुभएको हो भन्दै दाहालसामु प्रश्न राखेको पनि स्रोतको दाबी छ । ओलीले अहिले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकपनि राष्ट्रिय हितविपरित रहेको आरोप लगाए ।

ओलीले झनै रुखो स्वरमा भने,‘यस्ता खाले विषयमा एमाले पूर्ण सचेत छ, तपाईहरुले यो विषयमा कुनैपनि हालतमा हाम्रो साथ पाउनुहुँदैन्, अहिले समर्थनको अपेक्षा नगर्नुहोस्, पहिला हामी तपाईहरुले संशोधन प्रस्तावमा के के परिमार्जन गर्न खोज्नुभएको हो, त्यो पढ्छौं, अध्ययन गर्छौं, केही मात्रामा अविश्वास छ, विशेषगरी तपाईले सिमांकन चलाउने कुरामा।’

त्यस्तै ओलीले मोर्चा सहभागी हुने नाममा सरकारले दोस्रो चरणको निर्वाचन गर्ने यसअघिको कुरामा आफूहरुको कुनै आपत्ति नभएको भएपनि, शनिबारको नयाँ सहमतिपछि बजेटपछि नै दोस्रो चरणको निर्वाचन गर्ने कुरामा भने एमालेको गम्भिर आपत्ति रहेको बताए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘बजेट अघि चुनाव गरेको भए, ठिक थियो । बजेट ल्याएको १५ दिनपछि किन चुनावमा जाने ? के आधारले, यो हुनै सक्दैन् ।

यद्धपी हामी पनि दुई चरणमा चुनाव गर्ने कुरामा नरम छौं, तर त्यो बजेटलगत्तै होईन नि।’ दुवै नेताहरुवीच बरु बजेटको मिति सार्नेबारे समेत कुराकानी भएको बुझिएको छ । तर ओलीले बजेट लगत्तै गरिन चुनावमा भने एमालेको कुनै साथ नरहने बरु त्यसका विरुद्धमा आन्दोलनमा उत्रिने चेतावनी थियो ।

त्यस्तै ओलीले प्रधानमन्त्री दाहाललाई यो बीचमा सरकारले तीन वटा संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै भने,‘अहिलेसम्म तपाई प्रस्तावमा अडिन सक्नुभएको छैन, बरु उल्टै तपाईमाथि अविश्वास बढेको छ । यी कुराहरुमा पहिला तपाई क्लियर हुनुहोस्, यो प्रस्तावपनि फिर्ता लिनुहँदैन भन्ने के आधार छ र ?’

ओलीले प्रधानमन्त्री दाहालसँग पछिल्लो समय चुनाव भाँड्ने (कसैबाट र कतैबाट) खेल भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब त्यस्तो काम कतैबाटपनि हुनुहुँदैन भन्दै चुनाव भाँड्ने काम आफूहरुलाई सह्यै नभएको स्पष्ट पारे । उनले वर्तमान सरकार पूर्णतयः संविधान संशोधनको नाममा अल्झिरहेको बताउँदै प्रचण्डलाई भने,‘यो सरकार चुनाव चाहँदैन भन्ने निश्कर्ष हाम्रो हो, तपाईका कदमहरु त्यस्तै–त्यस्तै छन् ।’

जवाफमा प्रधानमन्त्री दाहालले आफू चुनावबाट एक ईन्चपनि तलमाथि नभएको र नहुने जिकिर गरेका थिए । उनले ओलीलाई आश्वास्त पार्दै भने,‘सबैलाई चुनावमा सहभागी गराउनको लागि नै मैले अथाह प्रयत्न गरेको छु, यो संशोधन प्रस्ताव र हिजोको सहमतिपनि त्यसकैको लागि हो नि ।’

दाहालले सहमतिको लागि एमालेले पनि साथ दिनुपर्ने आग्रह गरे । उनले निकै गम्भिर भएर ओलीसँग आग्रह गरे,‘यो संशोधन प्रस्ताव मिलेर पारित गरौं, यो पारित भयो भने चुनाव संविधान कार्यान्वयकनपनि हुन्छ, सबैको संविधानमा स्विकार्यता बढ्छ, यही नै प्रमुख आधार हो, यो भएमात्रै मुलुक र जनताले जित्छन्।’

प्रचण्डले पटक–पटक ओलीसँग सौहार्दपूर्ण तरिकाले वातावरण बनाउनको लागि मिलेर जान आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालसँगको पौने घण्टा लामो वान टु वान वार्तापछि ओलीले संसदीय दलको बैठकमा उक्त भेटवार्ताको बारेमा नेताहरुलाई जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot