Logo

शिवपुरी गाउँपालिकामा ठूला दललाई चूनौति, पूर्व पौडी खेलाडी स्वतन्त्र उम्मेद्धवार



काठमाडौं, १० बैशाख । स्थानीय तहको निर्वाचन मुखमै आउँदा यतिवेला चुनावी सकसमा प्रमुख दलहरु होमिएका छन् । चुनावले दलका नेता तथा कार्यकर्ताहरुलाई मात्रै नभएर स्वतन्त्र व्यक्तिहरुलाई पनि राम्रैसँग छोएको छ ।

काठमाडौंमापनि चुनावी चहलपहल विस्तारै सुरु हुँदैछ । तर काठमाडौंबाट मात्रै १५ किलोमिटरमा रहेको नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा भने चुनावी उम्मेद्धवारीलाई लिएर नयाँ तरँग पैदा भएको छ ।

प्रमुख दलहरुले चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी गरिरहेको बेला एक जना पूर्व पौडी खेलाडी राजेन्द्र बखाती स्वतन्त्रबाट उम्मेद्धवार दिने तयारीमा जुटेका छन्। जिल्लामा मात्रै नभएर देशभरि नै प्रसिद्धी कमाईसकेका बखातीलाई दलका नेताहरुप्रति त्यति विश्वास लागेको छैन ।

उनले रिपोर्टर्स नेपाल डटकमसँग भने,‘प्रमुख दलहरुले अहिलेसम्म गाउँको विकासको लागि केहीपनि माखो मारेका छैनन्, त्यसैले गाउँको विकास आँफै गर्नुपर्छ भन्ने हेतुले म चुनावी मैदानमा स्वतन्त्र उम्मेद्धवारको रुपमा खडा भएको छु, मलाई सबैले माया गर्नुहुनेछ, मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ।’

उनले आफूलाई गाउँबाट पनि उम्मेद्धवार बन्नुपर्छ भनेर ठूलो दबाब आएको बताए । उनले भने,‘यो मेरो लागि ठूलो भाग्य हो, म त अब पूरा तयारीका साथ मैदानमा होमिएको छु, जीत सुनिश्चित छ।’



प्रतिक्रिया दिनुहोस्