Logo

नेपाल–भारत सिमानामा काँडेतार लगाउन चुरेभावर पार्टीको माग



काठमाडौं, १० वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई अधिकतम प्रयोग गर्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन तयारी स्वरुप चुरेभावर पार्टीको वैशाख ८ र ९ गते उदयपुर जिल्लाको गाईघाटमा बसेको केन्द्रीय कार्यसमिति तथा विभिन्न जिल्लाका अध्यक्षहरूको संयुक्त बैठकले चुनावमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय गरेको हो । सो पार्टीले चुनावमा अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय पनि गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा वैशाख ३१ गते हुन लागेको निर्वाचनमा चुरेभावर पार्टीका सबै उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन अपील गरेका छन् ।

‘स्थानीय तहको चुनावका लागि उम्मेदवारहरूलाई छनौट गर्न जिल्ला कार्यसमितिहरूलाई नै जिम्मेवारी दिने निर्णय भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘चुरेभावर पार्टीको आफ्नो संगठन भएका सम्पूर्ण जिल्लाहरूमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा प्रमुख र उपप्रमुखसहित सबै पदमा उम्मेदवारी दिने निर्णय भएको छ ।’

सो पार्टीले उम्मेदवारी दिने सबै उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरू प्रत्येक जिल्लामा जिम्मेवारीका साथ खटाउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जनाएका छन् ।

चुरेभावर राष्ट्रिय एकता पार्टीले नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपाली भूमिमाथि भारतीय पक्षबाट पटक–पटक अतिक्रमण गरी नेपाली जनतालाई दुःख दिने गरेको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष न्यौपानेले सीमाबाट हुने तस्करी, आपराधिक क्रियाकलाप जस्ता कार्यलाई रोक्न दुई देशबीचको सीमालाई काँडेतार लगाएर व्यवस्थित गर्न माग गरेका छन् । उनले निश्चित नाकाबाट मात्रै परिचयपत्रमार्फत आवतजावतको व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय भएको बताए ।

‘विदेशीलाई नागरिकता दिनु हुँदैन, हिन्दी सरकारी भाषा हुँदैन’

त्यसैगरी, चुरेभावर राष्ट्रिय एकता पार्टीले कुनैपनि विदेशी नागरिकलाई सहज रुपमा नागरिकता दिने गरेर ल्याएको व्यवस्थाको पनि बिरोध गरेको छ । सो पार्टीका अध्यक्ष न्यौपानेले भनेका छन्, ‘स्थानीय तहको बहानामा सरकारले शनिबार राति केही आन्दोलनरत समूहसँग सहमति गरेको सञ्चारमाध्यममार्फत हामीलाई पनि जानकारी भएको छ।’

त्यस्तै विदेशी नागरिकलाई तत्काल नागरिकता दिने र हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाउन लागेकोप्रति चुरेभावर पार्टीको घोर आपत्ति छ ।’ न्यौपानेले यस्ता राष्ट्रहित विपरितका कुनै पनि निर्णय नगर्न सरकारको चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्