Logo

संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने



काठमाडौं ११ बैशाख । मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ ।
सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फत संशोधन प्रस्ताव राख्ने तयारी गरेको हो । कानुनमन्त्री अजयशंकर नायकका अनुसार संसद् सचिवालयमा यसअघि दर्ता भएको विधेयक सदनमा प्रस्तुत भएपछि त्यसमा संशोधनका लागि सत्तासीन दलका सांसदबाटै संशोधन राख्न लगाइनेछ ।

‘यसअघि दर्ता भएको ११ बुँदे विधेयकमा सबै धारा अटाएका छन्,’ नायकले भने, ‘सामान्य केही थपघट अब संशोधनमार्फत मिलाएर फास्ट ट्र्याकबाट पारित गरिनेछ ।’

उनका अनुसार सोमबारको संसद् बैठकमा संशोधन विधेयक पेश हुनेछ । सदनमा पेश भएपछि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ ।

उक्त समयमा सत्ता पक्षका सांसदले मधेसी दलसँग भएको सहमतिअनुसार संशोधन प्रस्ताव राख्नेछन् । संशोधनसहितको प्रस्ताव समेटेर समितिले सदनमा प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदन (विधेयक) लाई नियमावलीको व्यवस्था छोट्याउँदै एक सातामा पारित गर्ने सरकारको तयारी छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्