Logo

नयाँ सुरक्षा योजना बनाउँदै सरकार



काठमाडौं ११ बैशाख । नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो । आजको नयाँ पत्रिकामा खबर छ । सरकारको निर्णयले निर्वाचन सुरक्षामा थप सहज भएको गृहका अधिकारीहरूले बताएका छन् । ‘दुई चरणको निर्वाचनले हामीलाई सहज भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘दुई चरणमा गर्दा स्रोत–साधन र जनशक्तिमा समस्या हुँदैन र सुरक्षा अवस्था थप बलियो हुन्छ ।’

एउटा प्रदेशको प्रहरीलाई अर्काे प्रदेशमा केन्द्रित गरेर सुरक्षा योजना कार्यान्वयन गर्ने गृहको तयारी छ । निर्वाचन सुरक्षा रणनीति पुरानै भए पनि त्यसको कार्यान्वयनमा नयाँ रणनीतिक योजना बनाएर लागू गरिने प्रवक्ता पन्थीले बताए । निर्वाचन सुरक्षा विश्लेषणका लागि गृहले सबै क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठी गर्दै आएको छ । आइतबार मध्यमाञ्चलअन्तर्गतका तराईका जिल्लाको सुरक्षा गोष्ठी गरिएको छ ।

सेना खटाउने प्रस्ताव शीतलनिवासमा
—स्थानीय तहको निर्वाचनका वेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ ।

—निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहु“दा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ । निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए ।



प्रतिक्रिया दिनुहोस्