Logo

सरकार, मोर्चा र निर्वाचन आयोगको सयुक्त बैठक बालुवाटारमा



काठमाडौं ११ बैशाख । सरकारले निर्वाचन आयोग र मधेसी मोर्चासहितको बैठक बोलाएको छ । आयोगलाई प्रष्ट पार्न र आयोगको धारणा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान मधेसी मोर्चा र आयोगसहितको सयुक्त बैठक बोलाएका छन् । बिहानको छलफलमा आयोगले गर्न नमिल्ने बताएको र मोर्चाले गर्नैपर्छ भनेका केही विषयमा प्रष्टता खोजिनेछ । आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट, आगामी आर्थिक वर्षको बजेट जस्ता विषयमा सरकारको धारणा मागेको हो ।

आयोगले तयार पारिसकेको मतपत्र, मतदाता नामावली जस्ता विषय चलाइएन भने मात्रै दुई चरणको निर्वाचन सहज हुने बताएको छ । मधेसी मोर्चामा रहेका ६ दलले एकतापछि राष्ट्रिय जनता पार्टी दर्ता हुनुपर्ने र त्यसकै चुनाव चिन्ह दिनुपर्ने बताएका छन् । आयोगले नमिल्ने बताएको छ । मधेसी मोर्चामा आबद्ध ६ दल एक भएर बनेको राजपा स्थानीय चुनावमा नयाँ नाम र नयाँ चिह्नबाटै निर्वाचनमा जान खोजेको छ । ती विषयमा स्पष्ट हुन प्रधानमन्त्री दाहालले राजपा र फोरमका नेताहरूको उपस्थितिमा आयोग पदाधिकारीसँग छलफल डाकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्