Logo

एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुन्छ : रिजाल



काठमाडौं, ११ बैशाख । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले हालै अघि सारेको नयाँ संशोधन विद्येयक एमालेकै समर्थनमा संसदबाट पारित हुने दाबी गरेका हुन् उनले भने,‘एमालेपनि यो प्रस्तावलाई समर्थन गर्छ, मलाई लाग्छ यो प्रस्ताव सर्वसम्मतीले पारित हुन्छ ।’ उनले प्रस्ताव एक हप्ताभित्रै पारित हुनेपनि स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता रिजालले संशोधन प्रस्तावका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कन्टेन्टमा सहमति भएको जनाए । उनले भने,‘संशोधनको विषयमा ओलीजीसँग कन्टेन्टमा सहमति भएको छ, प्रक्रियामा उहाँको केही असहमति होला ।’

एमाले अध्यक्ष ओलीले बजेट लगत्तै चुनाव गर्ने कुरामा गम्भिर असहमति राखेको विषयमा टिप्पणी गर्दै रिजालले भने,‘चुनावको मिति तय भैसक्यो, अब मिति तलमाथि हुँदैन्, तर बजेटको मिति बरु असार १५ मा पुर्याउन सकिन्छ, यसको लागि दलहरुवीच घनिभुत छलफल तथा सहमति हुन आवश्यक छ।’ बजेटको मिति सार्नको लागि संविधान संशोधन गर्नुपर्ने भएकोले त्यतातर्फ समेत कसरी अघि बढ्न सकिन्छ भनेर दलहरुवीच अहिले गृहकार्य भैरहेको जानकारी दिए ।

त्यस्तै उनले वर्तमान काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन नै कायम रहने पनि बताए । उनले भने,‘काँग्रेस र माओवादीको गठबन्धन नै कायम रहन्छ ।’ प्रचण्ड लगत्तै अब काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्