Logo

राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ : उपप्रधानमन्त्री थापा



काठमाडाँै, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माणमा समाज सेवाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिने बताउनुभएको छ ।

समाजसेवी शशीकला राजभण्डारीको छैटाँै स्मृति सभामा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उपप्रधानमन्त्री कमल थापाले मुलुकमा स्वास्थ्य, शिक्षा तथा समाज सेवाको विकासमा राजभण्डारीले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

उहाँले समाजका दीनःदुखीप्रति उहाँले गरेको समर्पण सबैका लागि प्रेरणा बन्ने बताउँदै समाजसेवीले निःस्वार्थ भावनाले गर्ने सेवालाई सबै क्षेत्र र तहबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष टङ्क ढकालले समाजमा गरिब र दुःख पाएका मानिसको सेवा गर्नुपर्छ भन्ने भावना र मान्यताबाट राजभण्डारी निर्देशित रहेको विचार व्यक्त गर्नुभयो ।

महामन्त्री सुनिल थापाले समाज सेवामा एउटा परिचय बनाएपछि राजभण्डारीले मुलुकको राजनीतिमा प्रवेश गरेर सफलता प्राप्त गरेको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, दिलविकास राजभण्डारीलगायतले राजभण्डारीले समाजप्रति देखाएको निष्ठा र त्यागको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नर्सिङ सेवाबाट नेपाली सेनामा प्रवेश गर्नुभएकी राजभण्डारी सेनानीबाट अवकाश प्राप्त गरेपछि समाज सेवाका साथै तत्कालीन राप्रपा नेपालको केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । धूम्रबराहीस्थित पार्टीको केन्द्रीय कार्यालय उहाँको नामबाट नामाकरण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्