Logo

जेठ १ बाट सत्ता हस्तान्तरण होला त ?



काठमाडौ, ११ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणकै बेला  साझेदार दल नेपाली कांग्रेससँग स्थानीय तहको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको कुरा बाहिर आएको थियो ।

सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि जेठ १ गते पश्चात सत्ता हस्तान्तरण हुने विश्वास गरिएको थियो । तर अब स्थानीय तहको निर्वाचन नै दुई चरणमा गर्ने निर्णय गरेसँगै सत्ता हस्तान्तरणको विषय एकाएक चर्चामा आएको छ ।

स्थानीय तहको निर्वाचनपछि सत्ता हस्तान्तरणको सहमति कहिले कार्यान्वयन हुने पहिलो चरण लगत्तै वा दोस्रो चरणसम्म कुर्ने भन्ने विषयमा यतिवेला मत मतान्तर सुरु भएको हो ।

सरकारकै एक मन्त्री रमेश लेखकले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा जेठ १ गतेबाट  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति भएकोले पहिलो चरणको निर्वाचन लगत्तै सत्ता हस्तान्तरण हुनुपर्ने बताएका छन ।

तर प्रधानमन्त्रीको पार्टी भने यस विषयमा अझै प्रष्ट भैसकेको छैन । सत्ता हस्तान्तरण गर्ने वा नगर्ने भन्ने कुरामा स्पष्ट भएको छैन । एक थरी नेताहरु जेठ १ गते सत्ता हस्तान्तरण गरेपनि फरक नपर्ने धारणामा छन भने अर्कोथरी स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि सत्ता हस्तान्तरण गर्नुपर्ने धारणामा छन ।

उनीहरुले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्रै हस्तान्तरण गर्नुपर्ने तर्क गरेका छन । स्रोतका अनुसार देउवा प्रचण्डले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनपछि आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वासमा देखिन्छन ।



प्रतिक्रिया दिनुहोस्