Logo

यसो नगरे, एमाले समाप्त हुन्छ : राजेन्द्र महतो (भिडियोसहित)



काठमाडौं, १२ बैशाख । नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले परिमार्जनसहित व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराउन सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समाप्त हुने चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतोले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘अहिले आएको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक राष्ट्रको आवश्यकत्ता हो, यसलाई सबैले समर्थन गर्नुपर्छ, यदि यो प्रस्तावलाई समर्थन नगरे एमाले मधेशमा समाप्त हुन्छ, तराई मधेशका जनताले एमालेलाई खोजी खोजी मधेशमुक्त बनाउँछन्।’

उनले अहिले आएको संशोधन विद्येयक देश बचाउने विद्येयक भएकोले सबैले मुलुकको निकासको लागि सोच्नुपर्ने बताए । उनले भने,‘यो प्रस्ताव राष्ट्रघाती भन्नेहरु मुर्ख हुन्, यो विल्कुल राष्ट्रिय हितमा छ, यो त देश बचाउने संजिबीनी बुटि हो ।’

महतोले संशोधन प्रस्तावलाई सबैले साक्षा रुपमा लिनुपर्ने धारणा राखे । त्यस्तै उनले अहिलेको संशोधन प्रस्ताव पारित भएपछि राजपा र संघीय गठबन्धनपनि निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले थपे,‘हामी संशोधन प्रस्ताव पारित भएपछि निर्वाचनमा जान्छौं, प्रस्ताव पारित गराउनको लागि सबै दलले गम्भिर भएर सोच्नुपर्छ ।’

महतोले सिमांकन हेरफेरको लागि संविधानको धारा २७४ संशोधन गर्न सक्नुपनि आफूहरुको लागि ठूलो उपलब्धि भएको बताए । उनले समावेशी–समानुपातिक संघीय आयोगबाट सिमांकनको समाधान हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको जिकिर गरे । उनले भने,‘हामी झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश बनाउँछौं ।’

त्यस्तै उनले सिमांकनको समाधान नभएसम्म आफूहरु कुनैपनि सरकारमा सहभागी नहुनेपनि स्पष्ट पारे ।
अन्र्तवार्ताको क्रममा पत्रकार धमलाले हालै भएको ६ मधेशवादी दलहरुको एकतालाई भारतको निर्देशनमा भएको अरे नि भन्ने प्रश्न गर्दा उनले भने,‘यो एकता हाम्रो हो, यस्ता वाईहात कुरा नर्गुहोस्, जनता र समयको माँग हो ।’



प्रतिक्रिया दिनुहोस्