Logo

नेपाल स्काउट्सको तदर्थ समिति गठन गर्न माँग



काठमाडौं, १२ बैशाख । नेपाल स्काउट स्काउटर समुहले नेपाल स्काउटको तदर्थ समिति यथाशिघ्र चाँडो गठन गर्न माँग गरेको छ ।

मंगलबार स्काउटर समूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । समूहले नेपाल स्काउट केन्द्रिय कार्यालयको राष्ट्रिय परिषदको बैठक बस्न नसक्दा नेपाल स्काउटभित्र अनियमितता भएको, गैर–स्काउटलाई स्थान दिईएकोले अहिले स्काउटको छवि नै धुमिलिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको तदर्थ समिति विघटन् गरी नयाँ तदर्थ समिति गठन गर्न दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।

कार्यक्रममा बरिष्ठ स्काउटर हरिबहादुर श्रेष्ठले भने,‘प्रधानमन्त्रीले निर्देशन दिएको आज २७ दिन वितिसक्दापनि अहिलेसम्म तदर्थ समिति गठन भएको छैन् ।’ उनले तदर्थ समिति तत्काल गठन गर्नुपर्ने, आर्थिक अनियमितता रोक्नुपर्ने र स्काउटलाई स्वच्छ रहन दिनुपर्ने तीन बुँदे माँग आफूहरुको रहेको सुनाए ।

त्यस्तै कार्यक्रममा स्काउटरहरु देवदुत अधिकारी, कमल काफ्ले र तरुणदत्त रञ्जितलेपनि आफ्ना कुरा राखेका थिए ।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले मिति २०७३ चैत्र ९ गते नै तदर्थ समिति गठन सम्बन्धमा स्पष्ट रुपमा लेखेको कुरा चिठी समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

चिठीमा लेखिएको छ,‘नेपाल स्काउटको प्रचलित ऐन तथा नियमावली बिपरित अवैधानिक ढंगबाट कार्यरत हालको कार्यसमितिलाई विघटन गरी नेपाल स्काउटको मर्यादा एवम् गरिमालाई जोगाई सम्पूर्ण स्काउट्सको मनोवल उच्च राख् यथाशक्य चाँडो ऐन संशोधन गरी निर्वाचन गर्ने प्रमुख उद्देश्य राखी तदर्थ समिति गठन गर्नको लागि निर्णय गर्न हुन अनुरोध गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्