Logo

नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन



काठमाडौँ, १२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थलाई केन्द्रविन्दुमा राखेर नेपाललाई अन्तर्राष्ट्रियजगत्मा सुपरिचित गराउने काममा प्रभावकारी रुपमा लाग्न विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतलाई निर्देशन दिनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा नवनियुक्त राजदूतसँग आयोजना गरेको तीनदिने अन्तरक्रियामा उहाँले भन्नुभयो– “आफू खटिएको देशसँगको द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रीय सङ्गठनमा नेपालको बलियो उपस्थितिका साथै आफ्नो कार्यसम्पादनका क्रममा नेपालको आवश्यकता र प्राथमिकतालाई राजदूतले सदैव ध्यान दिनुपर्दछ ।”

परराष्ट्रमन्त्री डा महतले देशको इज्जत राखेर हाम्रो आफ्नो चासो र खाँचोको परिपूर्तिका लागि कूटनीतिक माध्यमबाट आफ्नो लक्ष्य र उद्देश्यका साथ परिणाममुखी भएर काम गर्न पनि राजदूतहरुलाई निर्देशन दिनुभयो ।

परराष्ट्र मन्त्रालयले परिणाममुखी कार्यका लागि हालै मात्र वार्षिक कार्यतालिका पारित गरेकाले आफू खटिएको नियोगमा गर्नुपर्ने र गर्नसक्ने कार्य, त्यसको लक्ष्य, उद्देश्य परिणामका लागि आवश्यक स्रोत र समयावधिसहितको तालिका बनाई आवधिकरुपमा प्रगति विवरण मन्त्रालयमा पठाउन पनि उहाँले निर्देशन दिनुभयो ।

परराष्ट्रमन्त्री डा महतले नेपालीहरुका लागि ठूलो सङ्ख्यामा श्रम बजार रहेको मध्यपूर्व एसियाली राष्ट्रमा खटिने राजदूतले लाखौँको सङ्ख्यामा रहेका नेपालीको समस्या र गुनासोको सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै नेपाली श्रमिककोे हकहितका लागि विशेष ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “जसको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ, उनीहरुको अधिकार, सुविधा र सुरक्षाका लागि काम गर्नु हाम्रो प्रमुख कर्तव्य हो ।”

परराष्ट्रमन्त्री डा महतले आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी भित्र्याउन र नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न पनि राजदूतको अहम् भूमिका भएकाले आर्थिक कूटनीतिको प्रवद्र्धन र विस्तारलाई पनि आफ्नो प्रमुख एजेन्डाका रुपमा राख्न निर्देशन दिनुभयो ।

नवनियुक्त राजदूतसँग आर्थिक कूटनीति, श्रम, पर्यटन प्रवद्र्धन, विकास सहायता, नेपालको परराष्ट्र नीति र राजदूतको भूमिका लगायतका विभिन्न विषयमा आजदेखि तीन दिनसम्म उक्त प्रतिष्ठानद्वारा अन्तरक्रिया राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्