Logo

सम्वादमार्फत् सहमतिमा पुग्ने प्रमूख पाँच दलको निर्णय



बैशाख १२, काठमाडौं । प्रमूख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ ।

मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारद्धारा संसदमा प्रस्तुत संविधान संशोधन विद्येयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटमा केन्द्रित भएर छलफल चलेको थियो । बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले प्रधानमन्त्रीद्धारा प्रस्तुत एजेण्डामाथि आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्