Logo

मधेश प्रदेशलाई देशकै सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ : डा. महतो



विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश

कर्जन्हा, १२ बैशाख । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम् सांसद डा. विरेन्द्र प्रसाद महतोले अहिले आएको संशोधन प्रस्ताव हुबहु पारित भएमात्रै आफूहरु निर्वाचनमा भाग लिने बताएका छन् ।

उनले भने,“अहिले संसदमा दर्ता भएको परिमार्जनसहितको नयाँ संशोधन प्रस्ताव हुबहु पारित हुन्छ भने  हामी चुनावमा जान्छौं, मधेशवादी दलहरु एक भएर अधिकारको लागि लड्नुपर्छ, हामीले चाह्यौं. भने मधेश प्रदेशलाई देशकै सबैभन्दा धनी प्रदेश बनाउन सक्छौं ।” मंगलबार सांसद महतोको गृहनगर कर्जन्हामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतोले यस्तो बताएका हुन् ।

त्यस्तै मधेश केन्द्रीत ६ वटा दलहरु मिलेर हालै घोषणा भएको राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामनारायण मेहताले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

राजपाको नेतृत्व, गठन प्रक्रिया, नीति र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका सिरहाका प्रभावशाली नेता मेहतालाई मंगलबार लहानमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

राजपा घोषणा हुनुअघि मेहता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य थिए । जिल्लामा दख्खल राख्ने नेता मेहताले आफूसँगै राजपाका पाँच सयको संख्यामा सक्रिय कार्यकर्तालाई फोरम नेपालमा भित्र्याएका छन् ।

राजपाकै सिरहा जिल्ला उपाध्यक्ष रामएकबाल साह, क्षेत्रीय सदस्य रमेश कुमार महतो, नगर सदस्यहरु सन्तोष कुमार महतो, हरेराम महतो र रामउजागर महतो लगायत जनतामा प्रभावशाली मानिएका नेताहरुको समूह पनि राजपा परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् ।

यसैगरी सोही पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि राजेन्द्रले पनि पार्टी परित्याग गरी फोरम नेपालसँग जोडिएका छन् । नेकपा एमालेको लहान नगर कमिटि समदस्यहरु फन्नीलाल महतो र राजाराम महतोले एमालेप्रति असन्तुष्टि जाहेर गर्दै फोरम नेपालको सदस्यता लिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका सात सय कार्यकर्ताले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् ।

मंगलबार नै प्रचण्डले चुनाव जितेको सिरहा क्षेत्र नं ५, करर्जन्हामा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुले फोरम नेपालको सदस्यता लिएका छन् ।

माओवादी परित्याग गरी आएका नवप्रवेशीहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले टिका लगाएर स्वागत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्