Logo

अवरुद्ध संसद् खुलाउने जिम्मा शीर्ष नेतालाई



काठमाडौँ, १२ वैशाख । प्रमुख तीन दलसहित बसेको पाँच दलको बैठकमा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार बिहान १०ः३० बजे शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्थानीय विकासमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार निष्कर्षमा पुग्ने सहमति भएको हो ।

बैठकका बारेमा जानकारी दिँदै एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले बुधबार बिहान १०ः३० बजे शीर्ष तीन नेता र उपप्रधानमन्त्री थापा गरी चार जना बसेर आजकै छलफलको पृष्ठभूमिमा एउटा टुङ्गोमा पुग्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल भएको र सहमतिका लागि छलफल प्रारम्भ भएको बताउनुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, बजेट ल्याउने र संसद् बैठक सुचारु गर्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताउनुभयो । बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको थियो ।

एमाले नेता नेम्वाङका अनुसार स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा एक÷दुई दिन छलफल निरन्तर रहनेछ । स्थानीय तहको निर्वाचन र जेठ १५ मा बजेट ल्याउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालले आफ्नो कुरा गम्भीरतापूर्वक राखेको उहाँको भनाइ छ ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, प्रकाशमान सिंह, एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्