Logo

कुमाल समुदायमा देखिएन चुनावी चहलपहल



पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन ।

बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दामा बासिन्दासम्म चुनावी प्रचार र चहलपहल पुग्नै सकेको छैन ।

कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न समुदायका रुपमा रहिआएका छन् । राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला संस्कृतिका दृष्टिमा भने धनी जातिका रुपमा लिइन्छ ।

परिवारको लागि घरखर्च जुटाउन बाह्रै महिना मजदुरी गर्ने यहाँका कुमाल समुदाय गरिबीले चुनाव केद्रिन्त हुन नसकेको स्थानीयवासी कुलबहादुर कुमालले बताउनुभयो ।

“गरिबीले गर्दा साथमा पैसा छैन, पैसा नभएपछि परिवार पाल्न मुस्किल हुँदो रहेछ, त्यसैले पहिला साँझ बिहान चुलोमा आगो बाल्नु नै पहिलो काम रहेछ,” उहाँले भन्नुभयो, हाम्रो ऋण छ, पैसा र विकास दिदैनन् । त्यसैले निर्वाचनप्रति चासो घटेको हो ।”

स्थानीय कान्छी कुमालले भन्नुभयो –“पैसा छैन । ऋण छ, कसैले पनि तिरिदिँदैनन् । त्यसैले चुनावले छुन नसकेको हो । पहिला भोट माग्न आउनेहरु पनि भोट माग्न आएका छैनन् ।”

पचपन्न वर्षीय कुलबहादुर पञ्चायतकालमा समेत गाउँ पञ्चायतमा निर्विरोध सदस्य बन्नुभएको थियो । पाल्पा सदरमुकाम तानसेन नजिकै रहेको घोरबन्दामा १२० कुमाल परिवार भएपनि चुनावमा प्रशस्त पैसा खर्च गर्न नसक्ने भएकाले यो समुदायको कोही पनि उम्मेदवार बन्ने मनस्थितिमा नभएको स्थानीय युवा तामबहादुर कुमालले बताउनुहुन्छ ।

यहाँको कुमाल वस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित छन् ।
पाल्पाको छहरारैनादेवी, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका र रामपुर नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेपनि स्थानीय तहमा यो समुदायको प्रतिनिधित्व कमजोर हुने देखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्