Logo

डिप्रोटिभोमाथि रियल मड्रिड को शानदार जित



काठमाडौँ, १४ वैशाख । रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्‍याकमा ल्याएको हो ।

अवे मैदानमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा अल्भारो मोराटा, लुकास भाजक्वेज, इस्को र कास्मेइरोले एक एक गोल गरे । डिप्रोटिभोका लागि फ्लोरिन एनडन र जोसेलुले एक एक गोल गरे ।

क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको तथा चोटका कारण ग्यारेथ बेल मैदान बाहिर रहेको खेलमा ५४ औं सेकेण्डमा मोराटाको गोलबाट रियल मड्रिडले अग्रता लियो । १४ औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा एनडनले डिप्रोटिभोका लागि गोल गरे ।

यस्तै ४४ औं मिनेटमा भाजक्वेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ३–१ को अग्रता लियो । ६६ औं मिनेटमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गरे । ७७ औं मिनेटमा इस्कोले गोल गरेपछि रियलको अग्रता ५–१ मा पुग्यो ।

८४ औं मिनेटमा जोसेलुले डिप्रोटिभोका लागि गोल गरे । तर ८७ औं मिनेटमा कास्मेइरोले गोल गरेपछि रियल मड्रिड ६–२ ले विजयी भयो । जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३३ खेलबाट ७८ अंक भएको छ ।

एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको पनि ७८ अंक नै छ । राति भएका अरु खेलमा लेगानेसले लास पालमसलाई ३–० तथा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हरायो ।



प्रतिक्रिया दिनुहोस्