Logo

बैशाख १७ गते नै संशोधन प्रस्ताव पारित गर्ने प्रधानमन्त्रीको तयारी, ओली फकाउने जिम्मा देउवालाई



काठमाडौं, १४ बैशाख । सरकारले संसदमा दर्ता गराएको परिमार्जनसहितको नयाँ संविधान संशोधन विद्येयकलाई यही बैशाख १७ गते पारित गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसदको सैद्धान्तिक छलफलमा रहेको उक्त संशोधन विद्येयकलाई १७ गते नै पारित गराएर बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने घोषणा गरिसकेका छन् ।

स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता लिएसँगै मधेशी मोर्चा सरकारसँग अहिले बिच्किएको छ । स्थानीय तहको संख्या बढाउने निर्णयबाट सरकार ब्याक भएको हो भने आफूहरु कुनैपनि हालतमा निर्वाचनमा नजाने बरु निर्वाचन भाँड्नको लागि आन्दोलनमा उत्रिने चेतावनी मोर्चाका शीर्ष नेताहरुले दिईसकेका छन् ।

त्यस्तै संसदमा दर्ता भएको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित गर्न नदिने तयारीका साथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षी गठबन्धनको बैठक बोलाएको छ । सरकारले मंसिरमा सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएपछि एमालेले विपक्षी नौ दलको गठवन्धन बनाएर आन्दोलन गरेको थियो ।

एमालेले कुनैपनि हालतमा संशोधन विद्येयक पारित गर्न नदिने अडान लिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउने जिम्मा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिएका छन् । प्रधानमन्त्री दाहाल र देउवावीचको लामो छलफलपछि एमालेलाई संशोधनमा सहमति गराउन देउवालाई जिम्मा दिईएको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्