Logo

सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव



लुम्बिनी, १४ वैशाख । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् ।

भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ । मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।

भारतरबाट आयात गरिने किलिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाइ गरिएपछि नेपाली सिमेन्ट उद्योग सङ्कटमा परेका हुन् । किलिङ्कर, फलाइएस, जिपसनलगायत कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतमाथी निर्भर बन्नु परेको छ । भारतको मात्रै भर परेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा विभिन्न सङ्कट बेहोर्ने गरेका छन् ।

अन्डर लोडिङका कारण भारतबाट विगतको तुलनामा झन्डै ६० प्रतिशत कम कच्चा पदार्थ आयात हुने गरेका कारण यहाँका उद्योगी मारमा परेका सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित अग्रवाल बताउनुहुन्छ । कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानी दर बढेको भन्दै उद्योगले पहिलाको तुलनामा आठदेखि १० प्रतिशतसम्म सिमेन्टको मूल्यमा वृद्धि गरेका छन् ।

“भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” अग्रवालले भन्नुभयो । भारतको सरदारनगरबाट चार हजार टन कच्चा पदार्थ नेपाल ल्याउनका लागि ८०÷९० वटा ट्रक भए पुग्नेमा अहिले झन्डै १५० देखि २५० वटा ट्रक आवश्यक पर्ने भएको छ ।

“अन्डर लोडिङसँगै ट्रकको अभाव देखिएको छ,” उहाँले भन्नुभयो– “यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ ।” कच्चा पदार्थको अभावका कारण रुपन्देहीका केही उद्योगले उत्पादन बन्द गरेका छन् । नेपालमा थर्मलप्लान्ट उद्योग नभएका कारण फ्लाइएसका लागि भारतसँग निर्भर रहनुपरेको छ । सरदारनगरमा मात्रै रहेको ¥याक प्वाइन्टलाई सरकारको पहलबाट भारतका अन्य स्थानमा पनि सार्नुपर्ने उद्योगीको माग छ । कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योगका गोदाम खाली भएका छन् ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना ट्रकको अभावसँगै ढुवानी लागत समेत बढेको बताउनुहुन्छ ।

यस्तै भारतले बिएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि ट्रकको अभाव भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले बताउनुभयो । उहाँले बजारमा बिएस फोरका गाडी आइनसकेका र बिएस थ्रिका गाडी दर्तामा रोक लगाएपछि गाडीको अभाव देखिएको बताउनुभयो । बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधारणले निर्माण गर्दै गरेका घर बीचमै रोक्नुपर्ने अवस्था आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्