Logo

राप्रपाले हुन नसक्ने कुरा गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ : दिलनाथ गिरी-पर्यटनमन्त्री



संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवम् राप्रपाका प्रभावशाली नेता दिलनाथ गिरीले आफ्नो पार्टीले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु पूरा गराएरै छोड्ने उद्धघोष गरेका छन् । नेपाली रेडियो नेटवर्कको नियमति कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । गिरीसँग धमलाले गरेको कुराकानीमो सम्पादित अंश :

तपाईको पार्टीले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन हुन्छ त ?

कार्यान्वयन नै हुन नसक्ने कुराहरु राप्रपाले कहिल्यैपनि अवलम्बन गर्दैन् । जुन कुरा हुन सक्छ, त्यही कुरा गर्छ । हाम्रो पार्टीको पहिचान भनेको नै त्यही हो । हामीले मुलुको विद्यमान परिस्थितिबाट जोगिन र मुलुकलाई समृद्ध बनाउनको लागि राप्रपा नै एउटा बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित् भएको छ । हाम्रा मान्यता र मुल्य भनेको नै यो मुलुकलाई सवल, सक्षम बनाउनको लागि भरपर्दो नेतृत्वबाट नै गर्न सकिन्छ भनेर धेरै मुलुकहरुले दिएका छन् । हामीले अलबम्बन गरेको सिद्धान्तपनि मुलुकलाई केन्द्रविन्दु बनाएर राष्ट्रको सर्वोपरि, सर्वमान्य कुरालाई हामीले प्राप्त गरेको सुदृढ नेतृत्वले त्यस ठाउँमा पुर्याउँछ भन्ने अवधारणाबाट नै हामीले हिजो घोषणापत्र जारी गरेका छौं ।

तपाईहरुले सार्वजनिक गरेको घोषणापत्रको विशेषताहरु के के हुन ? घोषणापत्रमा भनिएका कुराहरु लागु हुने सम्भव छ ?

निश्चित रुपमा संभव छ । मैले अघि नै निवेदन गरिसकें कि हामी असंभव कुरा कहिल्यैपनि व्यक्त गर्दैर्नौं । हामीले जनतालाई समृद्धितर्फ लैजान खोजेका छौं । हामीले सबै नेपालीहरुवीचको एकता, सद्भाव कायम गरेर हिँड्ने योजना बनाएका छौं । हामीले जितेका गाउँहरु एक परिवार एक रोजगार बनाउने छौं । स्थानीय सरकार भनेको विकासको कुरा हो, जनताको आवश्यकत्ता के के हुन ? भन्ने कुरा नै प्रमुख हुन् ।

तर अहिले चुनावको मुखमा राम्रा राम्रा कुरा गर्ने अनि चुनाव जितेर आएपछि बिर्सिने चलन छ नि ?

यो एकदमै सही कुरा हो । यही प्रवृत्तिको अन्त्य गर्नको लागि राप्रपा उदयीमान शक्ति भएको छ । किनभने बहुदलीय व्यवस्थाबाट नै राष्ट्रहरु समृद्ध भएका छन् । तर यसको जसले दुरुपयोग गर्छ, ती देशमा मुलुकको अस्तित्व नै समाप्त भएका ईतिहास पनि छन् । त्यसैले गर्दा, हाम्रो देशमा पनि बहुदलीय व्यवस्थालाई ढीक ढंगले परिचालन गर्न नसकेको अवस्थामा राप्रपा एउटा यस्तो बैकल्पिक शक्ति हो । यसको नेतृत्वबाट नै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने उद्धेश्यबाट नै अहिले मार्गचित्र अगाडि सारेको हो।

तपाईहरुले शिक्षा, स्वास्थ्य, उर्जा लगायतका क्षेत्रका विषयमा जुन योजनाहरु घोषणापत्रमा सार्नुभएको छ, यी कुरा लागु होलान भनेर जनताले विश्वास नै गर्न सकेका छैनन् ?

संभव छन् भन्ने कुराहरु छिमेकी मुलुकहरुले पनि प्रमाणित गरेका छन् । म एउटा उदाहरण पेश गर्न चाहन्छु । १९७८ भन्दा अगाडि चीनको आधा जनसंख्या चाहीँ भोकै थियो । आधा पेट खान्थ्यो । तर आजको चीन विश्वको अर्थतन्त्रमा पहिलो बनेको छ । हामीले चीनको विकासको तरक्की पनि देख्यौं । ईच्छाशक्ति भयो भने र नेतृत्व सुदृढ र भरोसा गर्न लायकको भयो भने मुलुकमा प्रगति हुँदो रहेछ भन्ने कुरा खोज्न धेरै पर जानुपर्दैन् । चीनको उदाहरण हेर्दा हुन्छ । त्यसैले हाम्रो देशमा पनि जनताको एकतालाई र सद्भावलाई कायम गरेर हिँड्न सकिन्छ भने विकास निर्माणलाई त्यसलाई तिव्र गतिमा अगाडि बढाउन सकिन्छ भन्ने कुराहरु हामीलाई पूर्ण रुपमा विश्वास छ । त्यही विश्वासका आधारमा हामीले यो घोषणापत्र ल्याएका छौं ।

हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रको पनि कुरा गर्नुभएको छ, यो संभव छ त?

९४ प्रतिशतको आस्थाको केन्द्र रहेको हिन्दूराष्ट्र, यो ओमकार परिवार हो । यत्रो ठूलो जनसंख्याको आस्थाको केन्द्र रहेको हिन्दूधर्मलाई निषेधलाई गरेर जुन ढंगबाट अगाडि बढ्ने जमर्को गरियो, यो अत्यन्तै गलत थियो । त्यो बाटो पूर्ण रुपमा गलत हो । र, दोस्रो कुरा के हो भने जनताको प्रत्यक्ष भावनालाई समेट्न सकिएन भने कुनैपनि प्रणाली सफल हुँदैन् । हामीले नेपाली जनताले केन्द्रविन्दुमा राखेर भन्दापनि विदेशी इृशारालाई केन्द्रविन्दूमा राखेर हिँडेको हुँदाखेरि आज यो देशमा दुर्गती आएको छ । यसको स्थायी समाधान भनेको नै नेपाली जनतालाई आफ्नो प्रणाली छान्न पाउनुपर्ने हो ।

                                                                                                                                                                           प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्