Logo

स्थानीय निर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपतिबाट स्वीकृति प्रदान



काठमाडौं, १४ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्या भण्डारीले स्वीकृति दिएकी छन् ।  संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनका लागि राष्ट्रपति भण्डारीले स्वीकृति दिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो ।स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना बनाइएको छ, जस अनुसार नेपाली सेना तेस्रो घेरामा रहनेछ ।

राष्ट्रपति भण्डारीकी सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘’ आज मिति २०७४ साल बैशाख १४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३/१२/९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३/१२/२९ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७३/१२/२९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ ।”



प्रतिक्रिया दिनुहोस्