Logo

इयुद्वारा निर्वाचनको स्वागत



काठमाडौँ, १४ वैशाख । युरोपेली सङ्घले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको स्वागत गरेको छ ।

सङ्घले यही वैशाख ३१ र आगामी जेठ ३१ गरी दुई चरणमा हुने स्थानीय तहको निर्वाचनको सफलताको शुभकामनासमेत दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि य सङ्घका राजदूत रिन्छे टेरेन्कले आज गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा स्थानीय तह निर्वाचनको स्वागत गर्नुभएको हो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकार संस्थागत गर्न निर्वाचनमा होमिएको बताउँदै निर्वाचनले सिंहदबारमा केन्द्रित जनताको अधिकारलाई जनताको घरआँगनमा पु¥याउने छ भन्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र सङ्घको चुनाव हुने र तीन तहको बलियो सरकार निर्माणपछि नेपाल समृद्धिको दिशामा द्रुतगतिमा अगाडि बढ्ने बताउनुभएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो । सो अवसरमा सङ्घका राजदूतले नेपालले अँगालेको लोकतान्त्रीकीकरण, समोवशीकरण र विकेन्द्रीकरण उदाहरणीय भएकामा प्रशंसा गर्नुभयो ।

आजै उपराष्ट्रपति पुनले नेपालका लागि इजरायलका राजदूत यारोन मायरसँगको शिष्टाचार भेटवार्तामा नेपाल र इजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै इजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न चाहेको बताउनुभयो ।

इजरायली राजदूतले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हासिल गरिरहेकाले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहन गरिरहेको बताउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्