Logo

सेन्ट जेभियर्समा भर्नाका नाममा ठगी,पक्राउ परे बाबुराम र विमल



काठमाडौं १५ बेशाख । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का २३ वर्षीय सुगम भन्ने बाबुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने रामेछाप गेलु–२ का ४० वर्षीय बिनोद भन्ने बिमल खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले बुधबार पक्राउ गरेको छ ।

काठमाडौं नागार्जुन नगरपालिका–१३ बस्ने पर्सा, विरुवागुठी–२ का रविनप्रसाद धितालले ५ वर्षीय छोरा प्रिन्स धिताललाई ललितपुर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा पढाउन इन्ट्रान्स परीक्षाको फाराम भरी स्कुल बाहिर बसिरहेको अवस्थामा सुवेदीले नाम निस्कन गाह्रो हुन्छ विमल खड्काले सबै मिलाइदिन्छ भन्दै त्यसबापत १ लाख ५० हजार लाग्छ भनेपछि धितालले तत्काल प्रभु बैंकको चेक सुवेदीलाई दिएको खुल्न आएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

स्कुलबाट इन्ट्रान्स परीक्षाको रिजल्टमा छोराको नाम ननिस्के पछि उनीहरूले ठगी गरेको र सम्पर्क विहिन भएको भन्दै महाशाखामा धितालले दरखास्त दिएपछि सुवेदीलाई काठमाडौं–३५ कोटेश्वरबाट ३६ हजार रुपैयाँ र विमललाई काठमाडौं–११ थापाथलीबाट १ लाख १४ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले बरामदी रकम सहित बिहिबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाएको छ । साथै निजहरुले अन्य व्यक्तिहरुलाई पनि विभिन्न ठाउँमा जागिर लगाई दिन्छु भनी ठगी गरेको बुझिएकोले थप आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्