Logo

संशोधन प्रस्ताव आईतबार सर्वसम्मतीले पारित हुन्छ : कानूनमन्त्री



काठमाडौं, १५ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमा नै सर्वसम्मतीले आउने आईतबार  पारित हुने ठोकुवा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । उनले भने,‘यो प्रस्ताव मुलुकको निकासको लागि हो, यसमा एमालेले आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन, त्यसैले हामीलाई पूरा विश्वास छ, यो प्रस्ताव एमालेकै सहमतिमा पास हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री नायकले सदन अबरुद्ध नभएको अवस्थामा सबै दलहरु मिलेर अगाडि बडनुपर्ने बताउँदै भने,‘अहिले मधेसवादी दलहरु धेरै लचक भएका छन्, यो अवस्थामा प्रमुख प्रतिपक्षी दलले आपत्तिको रुपमा लिनुहुँदैन, संविधान सशोधन प्रस्तावमा एमालेले आपत्ती जनाउनुपर्ने कुनै पनि बिषय छैन ।’

उनले देशको समस्या समाधान गर्ने सबै दलको दायित्व भएकोले प्रमुख प्रतिपक्षी दल एमाले पनि राष्ट्रिय भुमिकामा आउनुपर्ने बताए ।यद्धपी उनले पछिल्लो समय एमालेले सकारात्मक भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्तावमा त्यस्तो राष्ट्रिय हित विपरित केही पनि छैन, उहाँहरुको पहिला आपत्ति सिमांकनमा थियो, अहिले हामीले सिमांकनलाई थाँती राखेका छौं, त्यसैले अब एमालेले पनि राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ, पछिल्लो समय एमालेले सकारात्मक भूमिका निर्वाह गरिरहेको मैले पाएको छु।’

मन्त्री नायकले दोस्रो चरणको निर्वाचनको मिति धेरै ग्याप भयो भन्ने कुरामा टिप्पणी गर्दै भने,‘निर्वाचनको मिति हामीले निर्वाचन आयोगसँग परामर्श गरेर नै तय गरेका छौं, अहिले पनि हामी १० दिनको ग्यापमा गर्ने कुरामा छलफल गर्न तयार छौं, तर आयोगले त अझै हामीलाई असार पहिलो हप्ता भनेको थियो, त्यसैले सबै कुराको मध्येनजर गर्दै सहमतिका साथ अ िबढ्नुको विकल्प छैन् ।’ राष्ट्रलाई पूरै एकतावद्ध बनाएर अघि बढाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्