Logo

सरकार संशोधन प्रस्ताव पारित गराउन सक्ने सफलतमा पुगेको देखिँदैन : मैनाली (महासचिव)



नेकपा मालेका महासविच सिपी मैनालीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकलाई कुनैपनि हालतमा पास गर्न नदिने स्पष्ट पारेका छन् । उनले विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई असफल बनाउनको लागि निर्णय गरिसकेकोले अब निर्णय कार्यान्वयन गर्नतिर लाग्ने समेत बताएका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसमा मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश :

अब संविधान संशोधन प्रस्ताव पारित हुने भयो होईन त?

त्यस्तो देखिँदैन् । सत्तापक्षले दुई तिहाई पुर्याउने कोशिस तथा कसरत गरिरहेको त देखिन्छ । तर अहिलेसम्म दुई तिहाई नै पुर्याउने वा प्रस्ताव पारित गराउन सक्ने सफलतामा पुगेको देखिँदैन् ।

तपाईहरुको विपक्षी गठबन्धनपनि यतिवेला विभाजित हुन थाल्यो नि ?

त्यस्तो केही पनि विभाजन छैन । बरु, बिचमा केही अन्यौल भएर छिरोल्लिएकोजस्तो देखियो । फेरि हाम्रो विपक्षी गठबन्धन पूर्नगठित अवस्थामा अगाडि बढ्दैछ ।

उसो भए संशोधन प्रस्ताव असफल पार्नको लागि विपक्षी गठबन्धनबीच सहमति हुन्छ ?

अवश्य नि । अब यो पहिला पनि हामीबीच कुनै प्राविधिक स्वार्थहरु थिएनन् । कुनै नेताको विशेष स्वार्थले गठबन्धन बनेको थिएन । यो त देश र जनताको हितको रक्षाको निम्ति बनेको थियो । त्यो गठबन्धन बनेको थियो । विशेषगरि यो बीचमा एउटा राजनीतिक घट्नाक्रमले गर्दा छरिएको थियो । तर अहिले सरकारले फेरि संशोधनको परिमार्जित प्रस्ताव ल्याईसकेपछि, र खासगरी परिमार्जित प्रस्तावमा पनि पूरानै कुराहरु दोहोरिएका छन् । सिमांकनको विषय आयोग बनाएर टुँग्गो लगाउने बाहेक सबै कुराहरु पूरानै हुन् । नयाँ परिमार्जित प्रस्तावमा अलोकतान्त्रिक कुराहरु थपिएको कारणले गर्दा, जस्तो गाउँप्रमुखहरु र नगरप्रमुखहरुको अधिकार कटौती गर्ने, प्रदेशहरुको अधिकार कटौति गर्नेजस्ता थप कुराहरु छन् ।

तपाईलेपनि त्यतिखेर संशोधन प्रस्तावमा परिमार्जन भए, हामी समर्थन गर्छौ भन्नुभएको थियो नि?

मैले कहिल्यैपनि भनेको थिँईन् ।

सिमांकनबाहेकका अन्य विषयमा तपाई सकारात्मक हुनुहुनुन्थ्यो ?

एउटा कुरा के हो राष्ट्रिय हितको पक्षमा म छु । नागरिकताको सवाल जो छ, वैवाहिक आधारमा हुने नागरिकतालाई हामीले विरोध गरेका छैनौं । तर नागरिकता कमसेकम पारस्परिक हुनुपर्छ । जुन मुलुकसँग नागरिकताको कुरा हुन्छ, त्यो मुलुकसँग वा मुलुकमा हाम्रा चेलीहरुले कसरी वैवाहिक आधारमा पाउँछन्, त्यसको आधारमा हुनुपर्छ ।

तर तपाईले संशोधन प्रस्तावको पक्षमा जाने संकेत गर्नुभएको थियो नि ?

कहिल्यैपनि गरेको छैन् । तपाईहरुले बुझ्नुभयो होला ।

एमालेसँग तपाईको सम्बन्ध निकै चिसिएको थियो नि ?

मेरो अहिलेपनि विरोध छ । उहाँहरुसँग अहिले मेरो सहकार्य भएपनि विरोध कायमै छ। जुन ढंगले राष्ट्रिय पार्टी बनाउने उच्च र प्रतिगामी र पश्चगामी मापदण्ड ल्याउनुभयो । त्यो एमालेकै नेतृत्वले र उनीहरुकै उखरमाउलो प्रवृत्तिले गर्दा आएको हो । त्यो कुराको विरोध हिजोपनि थियो र अहिलेपनि छ । कतिपय विषयहरुमा हाम्रा आलोचनाहरु थपिएका छन् । तर त्यो आफ्नो ठाउँमा छ । तर यो अहिले राष्ट्रको हित संरक्षण गर्ने मुद्दा हो । सत्तापक्षले हिजो जुन प्रस्ताव ल्यायो, त्यो मान्य छैन् ।

यो प्रस्तावलाई पारित गराउनको लागि सरकारलाई के सुझाव दिनुहुन्छ ?

मैले सञ्चारमाध्यमबाट के बुझेको छु भनें अहिले जति अनुचित, अनुपर्युक्त, र नेपालका सबै जनता र जातीहरुलाई आघात पुर्याउने खालको छ । यसमा पनि अझै थपिएर आउँछ अरे । सरकार र मधेशवादी दलहरुवीच के सहमति वा थपिएर आउँछ यो अझैपनि रहस्यकै विषय बनेको छ ।

तर विपक्षी गठबन्धनले यही प्रस्तावमा अर्को संशोधन हाल्दैछ अरे नि ?

उहाँहरुले जुन गर्दैहुनुहुन्छ, यो उल्टो दिशामा र अहितकर दिशामा परिमार्जन हुँदैछ । हामीले परिमार्जनको अर्थ सकारात्मक दिशामा हो नि तर यहाँ त झन झन मुलुकको एकता कमजोर बनाउने दिशमातिर गैरहेको छ । त्यसकारण हामीले यस्तो प्रस्तावलाई समर्थन जनाउने कुनै अर्थ नै हुँदैन नि।

उसो भए विपक्षी गठबन्धनको बैठकको निश्कर्ष के हो ?

हिजो हामी बस्यौं । कतिपय उतारचढावको विषयमा पनि कुराहरु भए । अहिले दर्ता भएको संशोधन प्रस्ताव हिजोको भन्दापनि एक विषय कम भएपनि तर गलत दिशामा उन्मुख छ । यस्ता कुराहरु जो छन्, त्यसैले समर्थनीय छैनन् ।

निर्वाचनलाई सफल बनाउनको लागि यो प्रस्तावलाई परिमार्जन गर्नुपर्ने दायित्व होईन र ?

राष्ट्रलाई विभाजन र विभाजित गर्नेगरि, जस्तै अहिले हाम्रो देश धेरै पीडित हुने भनेको नागरिकताबाट हो। नागरिकता नीति अलिकति कठोर र संकीर्ण हुनुपर्ने हो । त्यही पनि हामीले क्रस बोर्डर म्यारिजलाई स्विकार गरेका छौं । विशेषगरि भारतसँग । वैवाहिक आधारमा नागरिकता दिने कुरालाई पनि हामीले स्विकार गरेका छौं । जुन ढंगको व्यवस्था संविधानमा उल्लेख गरिएको छ, त्यही नै उचित हो । एक हातमा मंगलसुत्र र अर्को हातमा नागरिकता हुन सक्दैन् । त्यो पारस्परिककाताको आधारमा हुनुपर्छ ।

विपक्षी गठबन्धन चुनाव टार्न चाहन्छ हो ?

त्यो झुठो आरोप हो । संविधान संशोधन हुन सक्छ । हामी संशोधनको विरोधी होईनौं । तर यो संशोधनको प्रकृति के हो ? नागरिकतामा संशोधन गरेर उहाँहरु के चाहनुहुन्छ ?उहाँहरुले ल्याएको नागरिकता नीतिले नेपालको नागरिकतालाई कमजोर बनाउने, हामीले पारस्परिकताको आधारमा हुनुपर्छ भन्ने कुरा गरेका छौं ।

तर यही प्रस्तावलाई पारित गराउनुपर्छ भन्ने कुरा तपाईले पनि गर्नुभएको थियो नि, उपप्रधानमन्त्री हुँदा ?

यो झुठ विषयमा मैले पटक पटक प्रतिवाद गरेको छु । अहिलेपनि म प्रतिवाद गर्छु । हामीले वार्ताको लाििग पििन पहल गरेको हो । तर हामीले धेरै बहस गरेकै थियौं ।

                                                                                                                                                                           प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्