Logo

नेकपा माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार



गोरखा, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ ।

सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली काँग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेकाले बताउनुभयो ।

पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिनुभयो ।

सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले)ले भने अहिलेसम्म उम्मेदवारतय गर्न सकेका छैनन् । आकाङ्क्षी धेरै हुँदा सर्वसम्मत उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । काँग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मत रुपमा उम्मेदवार तोकिएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्