Logo

संशोधन प्रस्तावमा सरकारले फेरि अर्को संशोधन हाल्ने



काठमाडौं, १५ बैशाख । व्यवस्थापिका–संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई सरकारले भोलि अर्को संशोधन हाल्ने भएको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलले संसदमा रहेको संशोधन प्रस्तावमा पूनः संशोधन हाल्ने निर्णय गरेको छ ।

अब हुने परिमार्जनमा नागरिकताको सवालमा सामान्य हेरफेर गर्ने भएको छ । अर्को देशको नागरिकता त्याग गर्ने वित्तिकै नेपालको नागरिकता लिने प्रक्रिया सुरु गर्ने, सिमांकनसम्बन्धी विवाद हल गर्न संघीय आयोग गठन गर्ने भन्ने ठाउँमा उक्त आयोगको अघि समानुपातिक–समावेशी शब्द थप्ने, भाषाको सवालमा धारा ७ को उपधारा ३, उपाधारा ३ तीनलाई ४ मा राखिने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले नेता अग्नी खरेलले संविधान संशोधन विधेयकमा साथ नसकिने पार्टीको अडान राखिएको जानकारी दिए । उनले सरकार र सत्तारुढ दलहरुभित्रै निर्वाचन कति चरणमा गर्ने विषयमा एकमत नरहेको सर्वदलीय बैठकमा पाइएको दावी समेत गरे ।

काँग्रेस नेता एवम् उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक पारित गर्न प्रधानमन्त्रीले दलहरुलाई आह्वान गरेको बताए । एमालेसहितको सहमतिमा संविधान संशोधन विधेयक पारित हुने दावी समेत मन्त्री निधिले गरे ।

बैठकमा सत्तापक्ष र सत्तारुढ दलहरुभित्रै स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने वा नगर्ने भन्ने विषयमा फरक फरक धारणा आएको थियो । संविधान संशोधन गरेर निर्वाचन सम्पन्न गर्ने विषयमा सत्तारुढ दलहरुबीच एकमत रहेको नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा सबै दलको सहमति जुटाउन सर्वदलीय बैठक आह्वान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्