Logo

सरकारद्वारा अदालतमा लिखित जवाफ पेस



काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ ।

सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

अदालतमा पेस गरिएको लिखितपत्रमा सरकारले प्रहरी नायब महानिरीक्षक सिलवालले आफ्नो कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी बनाएको उल्लेख छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनमा कार्यसम्पादन मूल्याङ्कन कागजात फर्जी भएको बताइएको छ ।

सिलवालले तत्कालीन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएलगत्तै गत चैत १९ गते अदालतमा रिट निवेदन दायर गरी कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो अङ्क अर्यालभन्दा बढी रहेको उल्लेख गर्नुभएको थियो । सरकारले पठाएको सो लिखित जवाफबारे यही वैशाख १९ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्